नेपालमा हरेक राजनीतिक दलहरुले आफ्नो स्वार्थका लागि बन्द, हड्ताल, चक्काजाम गर्ने गर्दछन् । उनीहरुले आफ्ना अनुकूलका मागहरु पूरा नभए बन्द, हड्ताल र आन्दोलन गर्ने प्रचलन छ । हरेक किसिमका बन्द र आन्दोलनबाट आमनागरिकमा वितृष्णा पैदा भएको छ । नागरिकमा जति वितृष्णा पैदा हुँदै गएको छ त्यति नै यसको परिणाम हानिकारक हुँदै गइरहेको छ । बाटोमा सवारीले कुखुरा मार्यो बन्द, हस्पिटलको केसले मान्छे मर्यो बन्द । सिण्डीकेटको विरोध गर्नु पर्यो बन्द, सरकारसँग केही माग गर्नु पर्यो बन्द । जनताको अधिकार, राजनैतिक मुद्दा तथा परिवर्तनको आवाज उठाउनु पर्यो बन्द । यस्ता बन्दको दुष्परिणामा चाहिँ सर्वसाधारण जनता पर्ने गरेका छन् । कहिले यो नाममा त कहिले त्यो नाममा, कहिले यसको विरोधमा त कहिले त्यसको विरोधमा बन्द र आन्दोलन हुने गर्दछन् ।
पछिल्लो समय एमसीसीका विरुद्धमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका ६ कम्युनिष्ट घटकहरुले आन्दोलन सहित नेपाल बन्द गर्दै आएका छन् । एमसीसी संसद्बाट अनुमोदन भइसकेपनि उनीहरुले आन्दोलनका कार्यक्रम जारी नै राखेका छन् । जसले गर्दा आमसर्वसाधारणले सास्ती खेपिरहनु परेको छ । बन्द र आन्दोलनका कारण विद्यालय, संघसस्थाहरु नियमित हुन सकिरहेका छैनन् । दिनभरी दुःख गरेर साँझ छाक टार्ने श्रमजीवीहरुका पेट खाली छन् । गन्तव्यमा निक्लिएका यात्रीहरुका लागि बन्द अभिसाप बनेको छ । सुन्दर भविष्यको रेखा कोर्न पिठ्युमा किताबका भारी बोकेर विद्यालय जाने कलिला नानीहरुका लागि बन्द सपनाका छिँडीहरु भत्काउने साधन बन्न पुगेको छ । बन्द समस्याको समाधानको साँटो थप समस्या बन्दै गएको छ । त्यसैले बन्द नै सबै समस्याको समाधान होइन । यो त जनतालाई दुःख दिनु मात्र हो । यस्ता बन्द–हड्ताल सदाका लागि बन्द गरिनुपर्छ । यसमा राजनीतिक दल गम्भीर हुनु जरुरी छ । आन्दोलन गर्नु नै छ भने रचनात्मक तरिकाले गर्न सकिन्छ । जनताको घर घरमा पुगेर आन्दोलनको औचित्य प्रष्ट पार्न सक्नुपर्छ । यसो भयो भने जायज कुराको लागि जनताले पनि साथ दिन्छ । हैन भने केही व्यक्ति र पार्टीको स्वार्थका लागि बन्द, हड्ताल गरिनु हुन्न । बन्द, हड्ताल गर्नु भनेको जनतालाई सास्ती दिनु मात्र होइन मुलुकको आर्थिक समृद्धिमा धक्का लाग्नु पनि हो । एक दिनको बन्दले मुलुकमा अर्बाैं रुपैयाँ क्षति बेहोर्नुपर्ने हुन्छ । तसर्थ यस्ता बन्द सदाका लागि बन्द गर्नुपर्छ ।