Shittalpati
विरोधमा चरनात्मकता आवश्यक

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतासम्बन्धी विवाद उत्कर्षमा पुग्दा नेपालको राजनीतिमा अचम्मका दृश्यहरू देखिन थालेका छन् । एमसीसी पास गर्न नहुने तर्क गरिरहेका दलहरू सडकमै उत्रिएर प्रदर्शन गरिरहेका छन् । वर्तमान सरकार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले सडकदेखि सदन र सरकारसम्म एमसीसीको विरोध गरिरहेका छन् । यी दुई दलले एमसीसीविरूद्ध आफ्ना भातृ संगठनलाई सडक प्रदर्शनमा उतारेका छन् । संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेका भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले पनि सडक प्रदर्शन गरिरहेका छन् । संसद् र सरकारमा नरहेका केही साना कम्युनिस्ट पार्टीहरू पनि एमसीसीविरूद्ध सडक प्रदर्शनमा छन् ।

सरकारबाहिर रहेका दलले प्रदर्शन गर्नु स्वाभाविक भए पनि सरकारमै रहेका दलले समेत कार्यकर्तालाई सडकमा उतारेर प्रहरीसँग मुठभेड गराइरहेका छन् । यो अत्यन्तै लजास्पद विषय हो । नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेकपा (माओवादी क्रान्तिकारी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा माओवादी केन्द्र र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी लगायत एमसीसीविरुद्ध सडकमै आन्दोलन गरिरहेका छन् । फागुन ४ मा नेपाल बन्द नै आह्वान गरेका यी दल र मोर्चाले विरोध प्रदर्शनका कार्यक्रम निरन्तर गरिरहेका छन् । काठमाडौंका सडकहरुमा भएको लगातारको प्रदर्शनले हिंसात्मक गतिविधिलाई पश्रय दिइरहेको देखिन्छ । एमसीसी अमेरिकाले नेपालका लागि अघि बढाएको सहयोग प्याकेज हो । कतिले यसलाई सकारात्मक ठानेका छन् भने कतिले नकारात्मकरुपमा लिएका छन् । नकारात्मक रुपमा लिनेहरूबाट यस्तो प्रदर्शन भइरहेको छ ।

सडक अवरोधले सर्वसाधारण जनतालाई सोझो प्रभाव परिरहेको छ । बाटो हिँड्न नपाउने, यातायात नचल्नाले आफ्नो गन्तव्यमा पुग्न नसकिने, बिरामीलाई समयमा अस्पताल पु¥याउन नसकिने, निर्दोष मानिससमेत हुलदंगामा पर्ने गरेका छन् । प्रहरीले प्रदर्शनकारीहरूमाथि पानीका फोहोरा र लाठी प्रहार गरेको छ । त्यतिले मात्र नभएर अश्रुग्यास र रबरका गोलीसमेत प्रयोग भएको छ । यो हेर्दा सामान्य देखिएला तर यसले यसैगरी उग्र रूप लिँदै गयो भने भोलि यो समस्या अन्तर्राष्ट्रियकरण हुनजान्छ । बन्द र अराजग प्रर्दशन गर्नुको सट्टा बरु देशैभरिका टोलबस्तीमा पुगेर एमसीसी यस कारण आवश्यक छैन ? यो राष्ट्रघाती छ भनेर प्रस्ट पार्नु जरुरी छ । तर, अहिले नै हतारमा कुनै पनि राजनीतिक दलले बन्द, प्रदर्शन र आमहडतालको आह्वान गर्नु भनेको द्वन्द्वलाई थप बढावा दिनुबाहेक केही होइन । तसर्थ एमसीसीका विषयमा सडकमा हिंसात्मक गतिविधि हुने गरी प्रर्दशन भइरहेको छ त्यसलाई बन्द गरेर रचनात्मक तरिकाले जानु राष्ट्र र जनताको हितमा हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update