Shittalpati
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पाल्पा, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । शनिबार रातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च बनाएको हो । डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाएको निगमले खाना पकाउने ग्याँस, तथा हवाइ इन्धनमा भने घाटा भएतापनि नबढाएको जनाएको छ ।

मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य लिटरमा १ सय ४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १ सय २८ रुपैयाँ पुगेको छ । पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा बेहोरेको निगमले इन्डियन आयल कर्पोरेशन (आइओस)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेलको मूल्यवृद्धि गरेको जनाएको छ । इन्डियन आयल कर्पोरेशनले ४ गते पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउँदा प्रति लिटर पेट्रोल रु. ५.६१ ले बढेको, डिजेल रु. ५.६२ ले बढेको र हवाई इन्धन रू. ४.९५ ले बढेर आएको निगमको भनाइ छ । समायोजनले निगमको १५ दिनको जम्मा घाटा करिब २ अर्ब ४० रुपैयाँ करोडबाट करिब २५ करोड रुपैयाँले घटी अझै करीब २ अर्ब १५ करोड रुपैयाँ घाटा यथावत नै रहने देखिएको जनाएको छ ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा निगमले करीब २४ अर्ब रुपैयाँ नोक्सानी व्यहोरी सकेकोले पेट्रोलियम पदार्थ खरिदबापत आवश्यक पर्ने रकम जुटाइ आपूर्ति व्यवस्था सहज बनाइ राख्न आगामी दिनहरूमा निगमलाई थप कठिनाई हुने निगमको भनाई छ । निगमले यसअघि माघ १८ गते मूल्य बढाएको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update