कृष्ण पोखरेल
पाल्पा, आईतबार विश्व उपभोक्ता दिवस मनाईरहँदा जिल्लाका सरोकारवाला निकायहरुले उपभोक्ता ठगिएको गुनासो गरेका छन् । उनीहरुले उपभोग्य वस्तु खरिदमा उपभोक्ताहरु ठगिएको गुनासो गरेका हुन् । हरेक उपभोग्य वस्तुहरुको खरिदमा उपभोक्ताले रकम अनुसारको गुणस्तरीय सरसमान तथा सेवा नपाएको सरोकारवाल निकायहरुले बताएका छन् । खाद्य, तेल, दुध दही, होटल रेष्टुरा, विभिन्न किसिमका सरसमानहरु उपभोक्ताले रकम तिरेर पनि गुणस्तरी नपाएको कार्यक्रममा सहभागी उपभोक्ताले गुनासो गरेका छन् । दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालयले गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले सबैपक्ष जिम्मेवार र उपभोक्तावादी भएर काम गर्नुपर्नेमा जोड दिए । विगतमा भन्दा अहिले उपभोक्ताहरुमा चेतना फैलिदै गएको, उत्पादन तथा उपभोग्य मिती हेरेर मात्र मालसमानको खरिद विक्रि गर्ने बानीको विकास हँुदै गएको, मालसमानमा लेखिको मुल्य भन्दा बढी रकम लिएमा उजुरी गर्ने बानीको विकास भएको, व्यापारीबाट गुणस्तरहिन सरसमान दिएमा उजुरी गर्ने जस्ता गतिविधीले उपभोक्तामा सचेतना बढ्दै गएपनि ग्रामिण क्षेत्रमा अझैपनि यी विषयमा उपभोक्तालाई ज्ञान नहुँदा ठगिनु परेको उपभोक्ताहरुले बताएका छन् ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत यज्ञेश्वर पन्थीले जिल्ला प्रशासनबाट हुने गरेका कामहरुलाई निरन्तरता दिने बताए । उपभोक्ताले पनि सस्तोमा गुणस्तहिन माल समान खरिद नगर्न अधिकृत पंन्थीले आग्रह गरे । उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष माधव नेपालले उपभोक्तालाई सचेत बनाउदै सरोकारवाला निकाय जिम्मेवार भएर काम गर्नुपर्ने बताए । पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेलले विगतमा भन्दा अहिले उपभोक्ताहरु सचेत बन्दै गएको, राज्यको निती नियमको कारण उपभोक्ता समेत मारमा परेको बताए । पाल्पा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष यादव सिंह कार्कीले जिल्लाका १० वटै स्थानीय तहमा उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । तानसेन नगरपालिका सामाजिक विकास अधिकृत भरत आचार्यले नगरपालिकाले सेवा तथा विषयबस्तु छनौट गरी अनुगमन गर्दै आएको, सुनचादी जस्ता महङ्गा बस्तुहरुको पनि अनुगमन गर्नुपर्ने बताए ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघका अध्यक्ष भेषराज तिमिल्सीना, पत्रकार कृष्ण पोखरेल, विष्णु घिमिरे, उपभोक्ता सिताराम घिमिरे लगायतले बजारको अवस्था, विभिन्न सरोकारवाल निकायले खेलेको भूमिकाको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च पाल्पाका सचिव कमलराज तिमिल्सेनाले नेपालमा उपभोक्ता अधिकारको विकासक्रम, उपभोक्ता हकहित सम्वन्धी ऐन नियम, उपभोक्ताले ध्यान दिनुपर्ने कुराहरु, नेपाली खाद्य बजारको अवस्था, बजारमा देखिएका चुनौती, उपभोक्ताले गर्ने उजुरी तथा सरकारी निकायबाट हुने कारवाहीको बारेमा कार्यपत्र पेश गरेका थिए । जिल्ला घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख बालकृष्ण गैरेको सभापतित्व, कार्यलयका प्रशिक्षक मनोज घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।