Shittalpati
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि पाल्पाका ५० विद्यालय छनोट

पाल्पा, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि पाल्पाका ५० विद्यालय छनोट भएका छन् । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका १० स्थानीय तहका विद्यालय छनोट गरेको हो ।

उक्त कार्यक्रम अन्र्तगत २, ४ कोठे भवन र आइसीटी कार्यक्रमका लागि विद्यालयहरू छनोटमा परेका हुन् । जिल्लाको तानसेन नगरपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका, रम्भा गाउँपालिका, बगनासकाली गाउँपालिका, तिनाउ गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाका ५० विद्यालय छनोट भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि विद्यालय छनोट गरी मापदण्डसमेत सार्वजनिक गरिएको छ । छनोट भएका विद्यालय र कार्यक्रम सबै स्थानीय तह र विद्यालयले कार्यान्वयन गर्नुपर्नेछ । सो कार्यक्रममा छनोट भएका विद्यालय र कार्यक्रमका लागि संघीय सरकारले चाँडै सम्बन्धित स्थानीय तहमा निकास गर्ने शिक्षा विभागले जनाएको छ ।

शिक्षा मन्त्रालयका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत मुलुकभर छनोटमा परेका विद्यालयमध्ये ९ सय ७६ वटामा चारकोठे भवन, ९ सय ६६ मा दुईकोठे भवन निर्माण गरिनेछ । यस्तै, दुई हजार १ सय ६ विद्यालयमा आइसिटी ल्याब व्यवस्थापन, ८८ मा प्राविधिक ल्याब र २१ नयाँ प्राविधिक शिक्षालय निर्माण गरिनेछ । चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुई कोठे भवन निर्माणका लागि प्रतिविद्यालय १८ लाख, आइसिटी ल्याब व्यवस्थापनका लागि प्रतिविद्यालय ६ लाख ५० हजारका दरले रकम उपलब्ध गराइनेछ ।

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update