Shittalpati
आजको संसद् बैठकमा टेबल होला त एमसीसी ?

रामचन्द्र रायमाझी
पाल्पा, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) आज बस्ने प्रतिनिधिसभा बैंठकमा टेबल हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर आजको संसद् बैंठकमा एमसीसी टेबल गर्न भनेका छन् । यो विषय सम्भावित कार्यसूचीमा नरहे पनि सरकारले जसरी पनि टेबल गर्ने अडान लिएको छ । लगातार तीन पटक सूचना टाँसेर स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बस्न लागेको हो । बैंठकमा एमसीसी अनुमोदनका लागि पेस हुन्छ, हुँदैन भन्ने आमचासो छ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी मुख्यालयलाई संयुक्त रुपमा लेखेको पत्रमा फागुन १६ सम्म एमसीसी पारित गर्ने उल्लेख गरेकाले पनि संसद् बैंठकलाई महत्वका साथ हेरिएको छ । एमसीसी पारित गर्न दृढ देउवालाई सबैभन्दा ठूलो चुनौती स्वयं सत्तारूढ गठबन्धनका माओवादी र एकीकृत समाजवादीको रहेको छ ।

देउवाले सत्तारूढ गठबन्धनदेखि प्रतिपक्षी एमालेसम्म समानान्तर रूपमा संवाद गरेर एमसीसी पारित गर्ने बताउँदै आएका छन् । तर माओवादी र एकीकृत समाजवादीको एमसीसीविरोधी अडान र एमालेको गैरजिम्मेवार भूमिकाका कारण एमसीसी प्रकरण थप जटिल र पेचिलो हुँदै गएको छ । काँग्रेसले राष्ट्रिय हितमा भएकाले एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ । आजको बंैठकमा एमसीसी पेस गर्न काँग्रेस एक भएको छ । एमसीसी टेबुल गर्न राष्ट्रिय सहमतिको शर्त राख्दै आएका सभामुख अग्निप्रसाद सापकोटा समेत सोमबारको सर्वदलीय बैठकपछि सकारात्मक देखिएका छन् । यद्यपि एमालेले सभामुखको कार्यशैली माथि प्रश्न उठाउँदै संसद्मा अवरोध गर्दै आएकाले बैंठक हुन्छ कि हुँदैन भन्ने विषय अन्यौल नै छ । संसद्मा उपस्थित सदस्य संख्याको बहुमतले एमसीसी पास गर्न सक्छ । ९८ सिट रहेको एमालेले समर्थन गरे प्रस्ताव सजिलै पास हुन्छ । किनकि काँग्रेससँग ६१ सांसद छन् । निर्णय प्रक्रिया हुँदा माओवादी र एकीकृत समाजवादीका सांसदले बैठक बहिष्कार गरे पनि कुनै गाह्रो हुँदैन तर एमालेका सबै सांसद बैठकमा उपस्थित भएर विपक्षमा उभिँदा वा तटस्थ बस्दा भने बहुमत नपुग्ने हुन्छ । प्रधानमन्त्री देउवाले भने एमसीसीका पक्षमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर संसद्बाट अनुमोदन हुने विश्वास व्यक्त गर्दै आएका छन् ।
सुरक्षा सतर्कता
सरकारले एमसीसीको विरोधमा हुने सम्भावित प्रदर्शनलाई लक्षित गर्दै थप सुरक्षा सतर्कता बढाएको छ । सरकारले आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेपछि गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्ला र संसद् भवन वरपरको क्षेत्रमा सुरक्षा सर्तकता बढाएको स्रोतले बताएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update