Shittalpati
बगनासमा फरक क्षमताका व्यक्तिलाई न्यानो कपडा

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका–१ का फरक क्षमता भएका व्यक्तिहरुलाई न्यानो कपडा दिइएको छ । बगनासकाली गाउँपालिका अपाङ्ग पुनःस्थापना समितिको आयोजना र वडा कार्यालयको सहयोगमा उनीहरुलाई न्यानो कपडा दिइएको हो ।
एक औपचारिक कार्यक्रमको आयोजना गरी ३३ जना फरक क्षमताका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको गाउँपालिकाका एमआईएस अपरेटर भोजराज भट्टराईले जानकारी दिए । बगनासकाली गाउँपालिका १ भित्र रहेका ७४ जना फरक क्षमता भएका व्यक्तिमध्ये वडाभित्र बसोवास गरेका रातो पहेँलो र सेतो कार्ड भएका ३३ जना फरक क्षमता भएका व्यक्तिलाई न्यानो कपडा उपलब्ध गराइएको वडा सचिव विराट गैरेले बताए । फरक क्षमताका व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले न्यानो कपडा हस्तान्तरण गरेका थिए । कपडा हस्तान्तरण गर्दै सुन्दर, शान्त र समृद्ध बगनासकालीको नारा सफल पार्न समाजमा फरक क्षमता भएका व्यक्तिहरूलाई सम्मान गर्दै जानुपर्नेमा उनले जोड दिए । अधिकृत घर्तीले फरक क्षमता भएका व्यक्तिको प्रतिभालाई समाजले प्रयोग गर्न सकेमा समृद्ध पालिकाको सपना साकार हुन सक्ने धारणा व्यक्त गरे ।

नेपाली समाजमा अझै पनि फरक क्षमता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण फरक भएकाले त्यसलाई परिवर्तन गर्न उनले सबैलाई आग्रह गरे । कार्यक्रममा वडा अध्यक्ष सोमबहादुर झेंडी, न्यायिक समिति सदस्य कुलप्रसाद ढुङ्गनाले वडाले विगतका वर्षदेखि नै लक्षित वर्गलाई बजेट विनियोजन गरी विभिन्न कार्यक्रममा सहयोग गर्दै आएको बताए । न्यानो कपडा पाएपछि उनीहरु उत्साहित भएका छन् । वडा अपाङ्ग पुनःस्थापना समितिका अध्यक्ष चन्द्रविर थापाको अध्यक्षता, न्यायिक समिति सदस्य कुलप्रसाद ढुंगानाको स्वागत र वडा सचिव विराट गैरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update