वालिङ, वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक संकलन गरी हस्तान्तरण गरिएको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रको विशेष पहलमा नौ लाख ८० हजार रकम भिरकोट–५ सिम्लेका अड्ढितसिंह ठकुरीको परिवारलाई घरमै पुगेर हस्तान्तरण गरिएको हो ।
स्याङ्जा सहयोग समाज पोर्चुगलका अध्यक्ष अर्जुन अर्याल लगायतको सक्रियता तथा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रले रकम संकलन गरी हस्तान्तरण गरेको हो । स्याङ्जा सहयोग समाज स्पेनबाट ६ सय ८०, फ्रान्सबाट ६ सय, बेल्जियमबाट ५ सय, नेदरल्याण्डबाट ३ सय ६०, एनआरएनए पोर्चुगलबाट दुई हजार ३ सय ५, पोर्चुगलबाट तीन हजार ४ सय १७ यूरो र थप केही संघसंस्था तथा व्यक्तिबाट रकम संकलन गरी घर पठाइएको हो । संकलित रकम भिरकोट नगरप्रमुख छायाराम खनालले परिवारलाई हस्तान्तरण गर्दै २८ वर्षको अल्पायुमै रोजगारीका सिलसिलामा विदेशी भूमिमा ज्यान गुमाएकामा दुःख व्यक्त गरे । उनले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा रहेका स्याङ्जावासीको सहयोगमा संकलन गरिएको रकमको सही सदुपयोग गर्न पनि सुझाव दिए । स्याङ्जा जिल्ला स्थायी ठेगाना भई वैदेशिक रोजगारीमा विभिन्न देशमा रहेका स्याङ्जावासीको सहयोगमा रकम संकलन गरी हस्तान्तरण गरिएको स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव मीन क्षेत्रीले बताए । समाजले विदेशी भूमिमा समस्यामा रहेका नेपालीको सहयोगमा काम गर्दै आएको छ । परिवारलाई सुखी राख्ने उद्देश्यसहित विदेशी भूमिमा काम गरिरहेका भाइ अड्ढितको निधनले मर्माहत भएको स्याङ्जा सहयोग समाज पोर्चुगलका अध्यक्ष अर्जुन अर्यालले बताए । एउटा नेपालीको दुःखमा अर्को नेपालीले सहयोग गर्नुपर्ने कर्तव्य ठानेर आर्थिक संकलनलाई तीव्रता दिएसँगै उक्त रकम जुटाउन सकिएको अध्यक्ष अर्याल बताउन्छन् । स्याङ्जाको भिरकोट नगरपालिका–५ सिम्ले घर भएका अड्ढित रोजगारीको सिलसिलामा केही महिनादेखि पोर्चुगलमा थिए । उनको गएको माघ १६ गते २८ वर्षको उमेरमा अकस्मात ढलेर निधन भएको थियो । –रासस