रामचन्द्र रायमाझी
पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाले कृषि, पशु र आयुर्वेदको सेवा एउटै भवनबाट दिन थालेको छ । उसले वडा २ र ३ का नागरिकहरुको सेवालाई मध्यनजर गर्दै तीन वटै सेवा एउटै भवनबाट दिन थालेको हो । दुई वडाबाट कृषि, पशु र आयुर्वेदको सेवा छुट्टाछुट्टै स्थानबाट प्रवाह हुँदै आएकोमा आइतबारदेखि एउटै भवनबाट हुन थालेको छ । बगनासकाली वडा २ र ३ का नागरिकहरुलाई यि तीन सेवा लिन फरक–फरक स्थानमा जानुपर्ने बाध्यता रहेकोमा अब भने एउटै स्थानबाट लिन पाउने भएका हुन् । दुवै वडाका नागरिकहरुलाई पायक पर्ने गरी गाउँपालिकाले वडा ३ मा कृषि, पशु तथा आयुर्वेद सेवा इकाई सञ्चालनमा ल्याएको छ ।
एक औपचारिक कार्यक्रमका बिच उक्त भवनबाट आइतबारदेखि एकिकृत सेवा सञ्चालन गरिएको छ । एकिकृत सेवा सञ्चालनमा आएपछि यहाँका सेवाग्राहीहरु उत्साहित भएका छन् । पहिलो दिन दश जना सेवाग्राहीले सेवा लिएका छन् । सेवा लिन कार्यालय पुगेकी वडा ३ की चन्द्रकला न्यौपाने तीन सेवा एकै ठाउँबाट लिन पाएकोमा अत्यन्त खुसी लागेको बताइन् । उनले पशुका लागि औषधि लिन एक ठाउँ जानु पर्ने, विउविज लिन अर्को ठाउँ जानुपर्ने अवस्था भने अहिले नरहेको भन्दै खुसी व्यक्त गरिन् । एकिकृत सेवाको गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले सेवाग्राहीलाई आवश्यक औषधि दिएर शुभारम्भ गरेकी हुन् । सेवाको शुभारम्भ गर्दै प्रमुख अतिथि समेत रहेकी चिदीले २ र ३ वडाका नागरिकहरुलाई एकिकृत सेवाले महत्वपूर्ण टेवा पुग्ने बताइन् । उनले आफ्नै घरदैलोमा सेवा आएकाले भरपुर रुपमा सेवा लिन सेवाग्राहीलाई आग्रह गरिन् ।
कृषि र पशु समृद्धिको आधार भएकाले गाउँपालिकाले यहाँका जनतालाई समृद्धिसँग जोड्ने गरी अगाडि बढेको उपाध्यक्ष चिदीले बताइन् । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता लक्ष्मी अधिकारीले जनतालाई सहज र छिटो, छरितो रुपमा सेवा प्रवाह गर्ने दिशामा गाउँपालिका अगाडि बढेको धारणा व्यक्त गरे । वडा २ का वडा अध्यक्ष टेकनाथ शर्माले कर्मचारी अभावमा सेवा प्रवाहमा समस्या उत्पन्न हुन सक्ने भएकाले त्यसतर्फ गाउँपालिकाले ध्यान दिनेमा जोड दिए । वडा ३ का वडा अध्यक्ष टीका थापाले खेर गएको भवनलाई सदुपयोग गरी दुवै वडालाई सहज हुने गरी सेवा दिन थालिएको बताए । उनले स्थानीयलाई सेवा लिन र कर्मचारीलाई काम गर्ने वातावरण सिर्जना गरिदिन पनि आग्रह गरे । प्रमुख प्रशासकिय अधिकृत विष्णु घर्तीले गाउँपालिकामा रहेको सिमित स्रोत र साधानको प्रयोग गरी सेवा प्रवाह गरिदै आएको बताए । उनले भौगोलिक हिसावले २ र ३ का सेवाग्रहीलाई सेवा लिन कठिनाई भएकाले एउटै भवनबाट एकिकृत सेवा दिन थालिएको बताए । कार्यक्रममा पशु सेवा प्रमुख गणेश नेपाली र वैद्य निरीक्षक धिरज पराजुलीले सेवा प्रवाहका विषयमा आ–आफ्ना धारणा राखेका थिए । पशु प्राविधिक कमला खनालको स्वागत, वडा ३ का वडा सचिव नारायण गैरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।