मदन देउराली
प्रत्येक वर्ष माघ शुक्ल भीमा द्वादशीका दिन तानसेनको मध्य भाग शितलपाटीमा रहेको भीमसेनको रथ यात्रा गरिन्छ । तर केही वर्षदेखि विश्वव्यापी कोभिड कोरोनाको महामारीका कारण देशका सबै ठाउँका जात्रा चाडपर्व पूरा प्रभावित बनेका छन् । जात्रा चाडपर्व केवल औपचारिकतामा मात्र सिमित रहन गएका छन् । शनिबार भीमा द्वादशीका दिन शितलपाटीको भीमसेनको जात्रा हुनु पर्ने हो तर यसपाली पनि यो जात्रा हुन सकेन । केवल परम्परा धान्नका लागि जागरराम मात्र बसी औपचारिकता पूरा गरिएको छ । काठमाडौं उपत्यका पछि दोश्रो वरियतामा धेरै जात्रा चाडपर्वहरु मनाउने सहर नै तानसेन हो । त्यसबेला विभिन्न कारणले काठमाडौं उपत्यकाबाट तानसेन आई बसेका हिन्दू बौद्ध नेवारहरुको सहर हो तानसेन । त्यसैले पनि आफुहरुले उपत्यकामा चलाईरहेका सबैजसो संस्कार तानसेनमा पनि स्थापित गराएका थिए जुन थोरैरुपमा भए पनि चलिरहेका छन् । तानसेनका हामी मध्ये कतिपयलाई थाहा नहुुन सक्छ तानसेनमा रहेका भीमसेन मन्दिर बारे ।
तानसेनमा कैलाशनगर, बसन्तपुर, शित्तलपाटी, भीमसेनटोल, मेहलधारा, गोर्खेकोटमा गरी ६ वटा भीमसेन मन्दिरहरु छन् । तर कुन भिंन्द्यो हो कुन भीमसेन हो यसमा धेरैजसो अलमलमा छन् । हुन त सबैलाई भीमसेन भनिए ता पनि शितलपाटी तथा भीमसेनटोलको भीमसेनलाई भिन्द्यो भन्ने गरिएको त छ तर शित्तलपाटीमा मन्दिर भित्र राखिएको ढुंगाको मूर्तिले महाभारतकालिन युद्वको झझल्को गराउँछ । किनभने त्यस मूर्तिमा भीमसेन आफ्ना शत्रु प्रति जाइलागेका छन् । त्यस्तै गरी बाहिर राखिएको घण्टमा पनि भीमसेनलाई चढाएको भनि कुँडिएको छ । भीमसेनटोलमा भएको मूर्तिले हातमा मुगदल समातेको छ तथा बाहिर राखिएको शिलालेखमा भीमसेनको स्तुती लेखिएको छ । त्यसैले पनि यिनीहरु भिन्द्यो हो कि भीमसेन हो यकिनका साथ कसैले भन्न सक्दैन । भिं को अर्थ हुन्छ राम्रो असल सबैको हित चिताउने तथा द्योको अर्थ हुन्छ देवता अर्थात् राम्रो गर्ने देवता । तर भीमसेन भन्ने वित्तिकै महाभारतका एक बलिष्ठ पात्र चित्रित गर्छ जसको अर्थ हुन्छ अत्यन्त बलवान, शक्तिशाली । शारिरिक रुपमा पनि भीम अत्यन्त बलिया छन् ।
लोकोख्यानका अनुसार त्यसबेला नेपाल उपत्यकामा पाञ्चाली व्यवस्था थियो र स्थानीय तहको राज्यको सम्पूर्ण व्यवस्था मिलाउने जिम्मा स्थानीय शासकले गर्द थिए । त्यसमध्ये एक थकू जुजु भन्ने शासक आफ्नो व्यापारको सिलसिलामा ल्हासा लागे । त्यसबेला नेवारहरु तिव्वत ल्हासा गई व्यापार गर्दथे । त्यहाँ उनले अकूत सम्पति कमाए तर त्यसलाई ल्याउनलाई सजिलो थिएन । उनले जसोतसो आफ्नो सम्पति दोलखासम्म ल्याई पु¥याए । त्यहाँ उनले एकजना अत्यन्त बलशाली व्यक्ति फेला पारे उनी थिए तुयू ज्यापु । ति तुयू ज्यापुले सजिलै सित उनको सम्पति विना विघ्न बाधा उनको घरसम्म पु¥याई दिए । सो शासक उनीसँग खुसी भएर उनलाई आफुसंगै बस्ने व्यवस्था मिलाई दिए । तुयू ज्यापु कुनै पनि शारीरिक परिश्रमको काममा उनलाई सहयोग गरी दिन्थे यति मात्र नभई उनले सो ठाउँमा भएका अन्य परिवारका कामहरु पनि गरी सबैलाई सहयोग गरी दिन्थे । जसले गर्दा उनी एक सहयोगी भावना भएका असल राम्रो पात्रका रुपमा सो समाजमा चर्चित भए र कालान्तरमा उनी भिम्ह देय थज्याम्ह अर्थात् भगवान जस्तो असल भनि सम्झिए र उनैलाई भिन्द्यो मानिएको भनिन्छ ।
त्यस्तै अर्को लोकोख्यान अनुसार कान्तिपुरको थकू जुजु त्वय मल्लको वैवाहिक सम्बन्ध दोलखाका राजा अभयदेवकी राजकुमारीसँग भए पछि राजाले दाइजो स्वरुप थुप्रै सम्पति राजालाई दिए जस्मा थुप्रै जग्गा जमिन पनि थियो । सो जग्गा जमिनमा खेतिपाति गर्नका लागि भनि एक जना शारीरिकरुपले बलवान किसान पनि संगै पठाए । उनी अति पराक्रमी थिए । उनी एकैरातमा सारा खेतमा रोपाइ गर्न सक्थ्ये । उनको यस्तो पराक्रम देखेर थकू जुजुले उनलाई भीमसेनकै प्रतिकको रुपमा मानेर आफैसँग बस्ने व्यवस्था मिलाइ राखे । उनै रैती किसान पछि भिन्द्योको रुपमा सम्झिएको पनि भनिन्छ । नेपालमा अत्यधिक मात्रामा पुजिने विभिन्न देवी देवताहरु मध्ये भीन्द्यो पनि एक रहेको छ । भीन्द्योको पूजा अर्चना विशेष गरी नेवार समाजमा बढी चलेको देखिन्छ । भिन्द्योसँग नेवार समुदायको सांस्कृतिक जीवन यति बाक्लो रÞयो कि नेवारहरु आफ्नो जीवन निर्वाहको क्रममा आफ्नो थातथलो छोडेर जहाँ गए पनि आफु बसेको घर आगन टोल वस्तिहरुमा भिन्द्योको मन्दिर बनाएर पूजा गर्न थाले । यो एकप्रकारको भिन्द्यो र नेवार समुदाय एकअर्काको पर्यायवाची भए, अर्थात् जहाँ नेवार त्यहाँ भिन्द्यो । त्यसैले देशका विभिन्न ठाउँहरुमा जहाँ–जहाँ नेवारहरुका बस्ती छन् त्यहाँ भीमसेन मन्दिर स्थापना गरिएकोे पाइन्छ । वास्तवमा भीन्द्योलाई नेवारहरुले आफ्नो कूल देवता मान्ने भएकाले पनि ठाउँ ठाउँमा भीमसेनको मन्दिर बनाई त्यसमा भीन्द्योको मूर्ति प्रतिष्ठापित गरी नित्य पूजा गर्ने गरेको तथा कतिपय ठाउँमा बर्षेनी रथयात्रा समेत गर्दै आइरहेका छन् । भीन्द्यो अत्यन्त बलवान भएकाले आफ्नो सम्पति र व्यापारको सुरक्षाका लागि पनि नेवारहरुले उनको पूजा उपासना गरेका हुन् भन्ने धारणा पनि छ । जे सुकै भए पनि भीन्द्योलाई व्यापार व्यवसायको भगवानको रुपमा मानिदै आइरहेका छन् साथै आफ्नो व्यापार वृद्धि गर्न भीन्द्योले हरतरहबाट सहयोग गरिरहेको विश्वास नेवारहरुमा रहेको पाइन्छ । महाभारतमा पञ्च पाण्डवका चरित्रहरु मध्ये दोश्रो वरियतामा रहेको भीमसेनलाई शारीरिकरुपमा अत्यन्त बलशाली मानिन्छ ।
नेवारी विद्वान लेखक मल्ल के सुन्दरले आफ्नो एक लेखमा भिन्द्यो र भीमसेनको बारेमा उनलाई एक आराध्यदेवको रुपमा पनि स्थापित गराएको पाइन्छ । शायद त्यसैले होला महाभारतदेखि नेपालमण्डल सम्म आउँदा उनलाई भीमसेन नभनेर भिन्द्यो भनिएको हो कि भन्ने आफ्नो तर्क पेश गर्नु भएको छ । कतिपयले भीमसेन र भिन्द्यो एकै हुन भन्दछन् भने कतिपयले फरक फरक हुन भन्ने पनि गर्छन् । तर जेसुकै भएता पनि तानसेनमा भएका भीमसेन भिन्द्यो एउटै हुन की फरक हुन भन्नेसँग भन्ने हुनै मतलब नगरी आफ्नो मान्यता अनुसार पूजाआजा गरेका यी मन्दिरहरुमा चढाएको घण्ट र शिलालेखले स्पष्ट गर्दछ । विभिन्न कालखण्डमा नेपाल उपत्यकाबाट नेवारहरु विभिन्न कारणले बाहिरिदा तानसेनमा पनि आएर स्थायी बसोबास गरेपछि आफनो इष्टदेवको रुपमा भीमसेनको मन्दिर बनाई गूठी पूजा गर्ने तथा व्यापार व्यवसाय गरेको पाइन्छ । तानसेनका विभिन्न टोलहरुमा स्थापना गरिएका भीमसेन मन्दिरहरु मध्ये शितलपाटीको भीमसेन मन्दिरलाई सबैभन्दा पुरानो मन्दिर मानिएको छ । यसको स्थापना विसं १८६४ मा भएको हो भन्ने भनाई छ । भीमसेनटोलमा स्थापना गरिएको भीमसेन मन्दिर पाल्पाका लागि तत्कालिन तैनाथवाला कर्णेल उजिरसिह थापाको पालामा वि.सं १८७२ सालतिर स्थापना गरिएको यहाँ भएको अभिलेखमा छ ।
त्यस्तै गरी बसन्तपुरटोलको भीमसेन मन्दिर विसं १९६३ र मेहलधाराको भीमसेन मन्दिर विसं १९६६ साल तिर स्थापना गरिएको देखिन्छ । तानसेनमा ६ वटा भीमसेन मन्दिरहरु भएता पनि केवल शीतलपाटीको भीमसेन र भीमसेनटोलमा रहेको भीमसेनको मात्र रथ यात्रा गर्ने गरिन्छ अरुको गरिदैन । भीमा एकादशीको दिन साँझ शितलपाटी मन्दिर अगाडि धुनि बालिन्छ, भजन गरिन्छ भने उपस्थित सबैलाई समयबजी प्रसादको रुपमा बाँडिन्छ । अर्को दिन भीमा द्वादशीको दिन दिउँसोको शुभ साइतमा भगवानको पित्तलको सानो प्रतिमूर्तिलाई रथमा राखि नगर परिक्रमा गराइन्छ । रथयात्रामा धिमेबाजा, तथा भजन मण्डलीले दाफा भजन गाएर नगर परिक्रमा गर्दछन् । रथयात्रा गर्दा धेरैजसो नेवार समुदायहरुले आ–आफनो घर–घरबाट भगवानलाई पूजा दिने चलन रहेको छ । नेवार समुदायले वर्षको एकपटक गुठी पूजा गर्दा भीमसेनको मान्दिरमा नै गएर पूजा गर्ने गर्दछन् । परम्परा र संस्कृति संरक्षणमा सबैको चासो हुनु पर्छ यही नै हाम्रो पहिचान हो । अस्तु !
(लेखक देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)