Shittalpati
सबैमा ‘प्रेम दिवस’को शुभकामना

अंग्रेजी क्यालेन्डर अनुसार हरेक वर्षको फेब्ररी १४ तारिखका दिन ‘भ्यालेन्टाइन डे’ अर्थात ‘प्रेम दिवस’ मनाउने गरिन्छ । जसलाई नेपालीमा ‘प्रणय दिवस’ पनि भन्ने गरिन्छ । आज पनि एक आपसमा साटासाट गरेर प्रेम दिवस मनाउन लागिएको छ । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित छ । प्रेमका लागि प्राण उत्सर्ग गर्ने पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ । यो पर्व वा दिवसमा गुलाफको फूल आफ्नो प्रेमी प्रेमिकालाई दियो भने प्रेम सम्बन्ध राम्रो हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ । विशेष गरी युवा युवतीहरूमा यसको बढी लगाव हुने गर्दछ । प्रेम दिवस आफैमा एक महत्वपूर्ण दिन हो ।

पहिले पश्चिमेली संस्कृति र चाडका रुपमा मात्र पहिचान बनाएको यो दिवस, केही वर्ष यता विश्वव्यापीकरण हुन सफल भएको छ । यतिबेला यसको प्रभाव विश्वको जुनसुकै कुनामा धेर थोर परेको छ । यसबाट पूर्वेली समाज पनि अछुतो रहन सकेको छैन । पछिल्ला वर्षहरुको अवस्था हेर्दा पूर्वेली समाजले पनि यो दिवसलाई पश्चिमेली समाजले झै निकै महत्व दिदै तामझाम र हर्षोल्लासका साथ मनाउन थालेको पाइन्छ । यो दिवसलाई अविवाहितहरुले आफूलाई मन परेकालाई प्रेम प्रस्ताव गर्ने, प्रेम सम्बन्धमा परेकाहरुले एक आपसको प्रेम सम्बन्धलाई अझ कसिलो, विश्वसनीय र परिपक्व बनाउने, प्रेम सम्बन्ध कसिलो भैसकेकाहरुले सम्बन्धलाई दाम्पत्य जीवनमा परिणत गर्ने, दाम्पत्य जीवन बिताइ रहेकाले दाम्पत्य जीवनयात्रालाई अझ सुखमय, आनन्दमय र दिर्घायु बनाउने र विदुर विदुषीहरुले आफ्ना दिवङ्गत जीवनसाथीको संझना गर्दै मृत आत्माको चीर शान्तिको लागि प्रार्थना गर्ने एक महत्वपूर्ण सूवर्ण अवसरका रुपमा सदुपयोग गर्ने गरेको पाइन्छ । तर अचेल सबैमा प्रेम सहज र सस्तो भएको छ ।

प्रेमलाई अहिलेका युवाहरूले टाइमपास गर्ने माध्यम बनाएका छन् । मन लागेका बेला प्रेमको नाटक रच्यो नलाग्दा त्यसैलाई बलिको बोका बनाउने गर्न थालिएको छ । तर यसो हुनु गलत हो । साँचो प्रेममा त्याग हुन्छ, विश्वास हुन्छ । माया प्रेमले जीवनलाई नै रङ्गीन बनाउँछ, जीवनका गोरेटोहरूको पाइला चाल्न सहज बनाउँछ । एक अर्काबीचको माया प्रेमले जीवनका योजना र हरेक क्षेत्रका सफलताका लागि बाटो खुल्छ । युवा पुस्तामा बढेको गलत अभिप्रायको प्रेम लहरको परिणाम गलत हुन्छ । त्यसैले प्रेमलाई सकारात्मक रुपमा लिन सक्नुपर्छ । शारीरिक आकर्षण र मनोरञ्जनमा केन्द्रित भएर नभई जीवनलाई सफलताको पाइलामा बढाउन सक्ने ऊर्जाको रुपमा प्रेमलाई लिनुपर्छ । यसकारण माया गर्नेले जीवन चलाउन सक्नुपर्छ । यो दिवसलाई रमाइलो मात्र होइन साँचो प्रेम गर्नेका लागि सम्मान गर्ने पर्व पनि बनाउन सकियोस् । अनि मात्र प्रेमको महत्व झल्किन्छ । यो संसार प्रेममै अडिएको छ । यसैले प्रेम गरेर बाँच्ने र बचाउने सबैमा प्रेम दिवसको शुभकामना ।

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update