
पाल्पा, नेपालकै दोस्रो र प्रदेश पाँचमा पहिलो बालमैत्री गाउँपालिका घोषणाको अन्तिम चरणमा रहेको जिल्लाको बगनासकाली गाउँपालिकाले घोषणा पश्चात् दीगोपनाको लागि रणनीतिक योजना बनाउन लागेको छ । बालमैत्री स्थानीय शासनका ८५ प्रतिशत सुचकांङ्क पूरा गरी गाउँपालिका भित्रका सबै विद्यालय बालमैत्री घोषणा गरिसकेको गाउँपालिकाको आजदेखि चैत ५ गतेसम्मका लागि दीर्घकालिन योजना निर्माणका लागि रणनीतिक योजना तर्जुमा गोष्ठी सञ्चालन गरेको छ । यति बेला गाउँपालिकाको सभाहलमा गोष्ठी सञ्चालन भइरहेको छ । गोष्ठीमा बालमैत्री गाउँसमितिका पदाधिकारी, कार्यपालिका सदस्य, पालिकास्तरी बालसञ्जालका पदाधिकारीहरु, पालिकास्तरी बाल संरक्षण तथा समन्वय समितिका पदाधिकारी, बालमैत्री सहयोग समिति र कर्मचारीहरुको सहभागिता रहेको छ । गोष्ठीको बालमैत्री गाउँसमितिका संयोजक तथा गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले उद्घाटन गरेका छन् । गोष्ठीको उद्घाटन गर्दै अध्यक्ष बस्यालले गोष्ठीले बालमैत्री घोषणा पश्चातका लागि आवश्यक दीर्घकालिन योजनाहरु निर्माण गर्ने बताए । गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीको स्वागत, प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले कार्यक्रमको उद्देश्य माथि प्रकास र प्रशिक्षक शर्मिला पौड्यालको प्रशिक्षणमा गोष्ठी सञ्चालन भइरहेको छ ।