
भरत शर्मा
पाल्पा, तानसेनमा रहेको बेथल सेकेण्डरी बोर्डिङ्ग स्कुलले रजत जयन्ती स्मारक अनावरण गरेको छ । स्कूलले आफ्नो रजत महोत्सवको अवसर पारेर रजत स्मारक अनावरण गरेको हो । उक्त स्मारकको लुम्बिनी प्रदेशका शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले अनावरण गरेका छन् । स्मारकको अनावरण गर्दै प्रमुख अतिथि समेत रहेका मन्त्री खाँले बेथल स्कूलले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै थप सफलताको शुभकामना व्यक्त गरे । उनले पाल्पामा ऐतिहासिक धार्मिक र पर्यटकिय विविधता रहेको चर्चा गर्दै शिक्षा क्षेत्रमा पनि यो जिल्लाले धेरै वर्ष पहिलेदेखि उल्लेख्य भूमिका खेल्दै आएको धारणा व्यक्त गरे । मन्त्री खाँले शैक्षिक गुणस्तर वृद्धिका लागि निजी शैक्षिक संस्थाको विषेश योगदान रहेकाले राम्रा विद्यालयको लागि आफ्नो मन्त्रालयबाट सहयोग रहने समेत बताए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल खेम सारुले बेथल बोर्डिङ्ग स्कुलले शिक्षाको साथै अतिरिक्त क्रियाकलापमा समेत राष्ट्रियस्तरमा नै ख्याती कमाउन सफल भएको धारणा व्यक्त गरे । उनले अनुशासीत र लगनशिल र जेहन्दार विद्यार्थी आफ्नो विद्यालयमा अध्ययन गर्ने भएकाले नै विद्यालयले सफलता पाएको बताए । विद्यालय सञ्चालक समितिका अध्यक्ष माधव नेपालले सरकाले निजी क्षेत्रका विद्यालयलाई उपेक्षा गरेकोमा गुनासो गर्दै आफ्नो विद्यालय व्यवसायियक रुपमा नभई गुणात्मक शिक्षा र सेवाका लागि अग्रसर रहेको बताए । उनले कोभिड १९ का कारण विद्यालयले आफ्नो रजत महोत्सव समयमा मनाउन नपाएता पनि यसै महिनामा अभिभावक र सबै शैक्षिक सामाजिक क्षेत्रका व्यक्ति आमन्त्रण गरी भव्य समारोहको आयोजना गरी मनाउने बताए ।
कार्यक्रममा पाल्पा प्याव्सनका अध्यक्ष महेशमान बज्राचार्य, नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, पूर्व वडा अध्यक्ष केशव पौड्याल, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष त्रिलोचन पौडेल लगायतले निजी क्षेत्रको तर्फबाट स्कूलले शैक्षिक क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेको भन्दै स्कूलको प्रशंसा गरे । रजत महोत्सवकै अवसरमा स्कूलले रामनदी धाम शिव पार्वती आश्रममा रहेका जेष्ठ नागरीकलाई खाद्यान्न समेत प्रदान गरेको थियो । अनावरण कार्यक्रमको सञ्चालन विद्यालयका विद्यार्थी धन कुमारी छन्त्यालले गरेकी थिइन् ।