पाल्पा, जिल्लाको तानसेन नगरपालिका ९ दमकडामा रानीचुँडी लिप्ट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको भेला आयोजना गरिएको छ । साविकको मदनपोखरा गाउँविकास समितिको ६, ७, ८ वडाका करिव एक हजार परिवारमा खानेपानीको सुविधा पुर्याउने उद्देश्यले सञ्चालित योजनाको विषयमा छलफल गर्न वडा कार्यलयले शनिबार भेलाको आयोजना गरेको हो ।
भेलालाई सम्बोधन गर्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका प्रमुख अनुज उपाध्ययले ९ करोड रुपैयाँको लागतमा योजना सम्पन्न हुने बताए । उनले योजना तथा कार्यक्रम सम्पन्न गर्न प्रविधिक ,सामाजिक पक्ष राम्रो हुनुपर्ने बताउँदै योजना तथा आयोजना समस्या रहित हुनु पर्नेमा जोड दिए । प्रमुख उपाध्ययले उक्त योजना स्थानीय उपभोक्ता समितिमार्फत सञ्चालन हुने भएकाले निष्पक्ष र पारदर्शी ढंगले काम गर्न उपभोक्ता समितिलाई आग्रह गरे । काम उपभोक्ता समितिले गर्ने भए पनि त्यसको समन्वय खानेपानी तथा सरसफाई डिभिजन कार्यलयले गर्ने उनले बताए ।
कार्यलय,उपभोक्ता समिति र उपभोक्ताहरु बिचमा समन्वय भए मात्र योजनाले दीगोपना पाउने बताउदै उपाध्यक्षले त्यसतर्फ ध्यान दिन समितिलाई आग्रह गरे । वडा अध्यक्ष हरिसुमर रेग्मीले भेला आयोजनाको उद्देश्य माथि प्रकाश पार्दै एक घर एक धारा कार्यक्रम अन्तर्गत परियोजनाको सुरुवात गरिएको बताए । उपभोक्ता समितिका अध्यक्ष मिन प्रसाद बञ्जाडेले कार्यलय प्रमुखको रिक्तता, अख्तियारमा उजुरी, कोभिड लगायतका कारणले दुई आर्थिक वर्षको काममा ढिलाई हुन पुगेको बताए । उनले अब काम तीव्र रुपमा अगाडि बढ्नेमा विश्वास व्यक्त गरे । योजनाको अहिले सम्म १ करोड ६६ लाख ८४ हजार ९ सय रुपैयाँको काम भएको बताइएको छ ।