Shittalpati
फागुन १ देखि पाल्पाका सबै शैक्षिक संस्थाहरु खुल्ने

रामचन्द्र रायमाझी
पाल्पा, आगामी फागुन १ गतेदेखि जिल्लाका सम्पूर्ण शैक्षिक संस्था तथा विद्यालयहरू खुल्ने भएका छन् । कोरोना नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले ९ बुँदे आदेश जारी गर्दै शैक्षिक संस्था तथा विद्यालयहरु खोल्न सक्ने बताएसँगै फागुन १ गतेदेखि खुल्ने भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले शुक्रबार फागुन १ देखि लागु हुने गरी नयाँ आदेश जारी गर्दै विद्यालय, विश्वविद्यालय, कलेज, ट्यिुशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने उल्लेख गरेको छ । तर कार्यालयले जारी गरेको ९ बुँदे आदेशमा कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका १२ वर्षमाथि उमेर समूहका विद्यार्थीका हकमा मात्र नियमित रूपमा कक्षा सञ्चालन गर्ने र १२ वर्ष पूरा नभएका विद्यार्थीको हकमा भने आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन आदेश दिइएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण बढ्दै गएपछि सोको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन नेपाल सरकारले माघ पहिलो सातादेखि अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण शैक्षिक संस्था तथा विद्यालयहरु बन्द गरेको थियो । केही दिन अघि सीसीएमसीसीको बैठकले फागुन १ गतेबाट लागु हुने गरी विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य शैक्षिक क्रियाकलाप समेत खोल्न गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको थियो । सीसीएमसीसीको बैठकले सो क्रियाकलाप सञ्चालन गर्दा जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी) ले कोभिड–१९ जोखिम सम्बन्धी विश्लेषण गरी आवश्यकता अनुसार स्मार्ट लकडाउन गर्न सक्ने जनाएको थियो । सोही अनुसार पाल्पा प्रशासनले पनि कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी विद्यालय सञ्चालन गर्न आदेश गरेको हो ।

त्यसै गरी प्रशासनले विवाह, ब्रतबन्ध र अन्य सामाजिक, सांस्कृतिक कार्यक्रम गर्दा पार्टी प्यालेसहरुमा कुल क्षमताको ५० प्रतिशत वा बढीमा एक सय जना नबढ्ने गरी सञ्चालन गर्नुपर्ने, खेलमैदानमा दर्शक क्षमता भन्दा बढी नहुने गरी गतिविधि सञ्चालन गर्नुपर्ने आदेश पनि जारी गरेको छ । सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, जिमखाना, स्वीमिङ पुल, फुटसल, हाटबजारमा क्षमता भन्दा बढी नहुने गरी पूर्व तोकिएको समयमसम्म मर्यादित रुपमा सञ्चालन गर्न सिफारिस गरेको छ । त्यसैगरी प्रशासनले सबै प्रकारका आमसभा, जुलुस, गोष्ठी, सेमिनार, समिक्षा बैंठक जस्ता क्रियाकलाप एक पटकमा बढीमा एक सय जना सम्म उपस्थित भई गर्न सकिने तर सो भन्दा बढी संख्या आवश्यक परेमा स्थानको क्षमता खुलाई पूर्व स्वीकृत लिनुपर्ने, मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरुमा एक पटकमा ५० जनामा नबढ्ने गरी गर्न, सार्वजनिक यातायातका यात्रुवाहक सवारी साधन, यात्रु र होटल व्यवसाय, रेष्टुरेण्ड, खाजाघर अन्य व्यवसाय र सार्वजनिक निकायले सेवा प्रवाह गर्दा पूर्व मितिका आदेशमा उल्लेख भएका जनस्वास्थ्यका सुरक्षा मापदण्ड यथावत रुपमा पालना गरी सञ्चालन गर्नु पर्ने ब्यवस्थासहित नयाँ आदेश जारी गरेको छ ।

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update