Shittalpati
सैनिक संग्रहालय दरबारलाई

रामचन्द्र रायमाझी
पाल्पा, तानसेनमा नेपाली सेनाको गोरखदल गणले बनाएको सैनिक संग्रहालय हस्तान्तरण गरिएको छ । पाल्पा दरबार संग्रहालयको माथिल्लो तलामा सेनाले स्थापना गरेको सैनिक संग्रहालय पाल्पा दरबार संग्रहालयलाई बिहीबार हस्तान्तरण गरिएको हो । सेनाले संग्रहालयको सम्पूर्ण काम सकेर व्यवस्थापन र सञ्चालनका लागि दरबार संग्रहालयलाई दिएको छ । गोरख दल गणका गणपति जनककुमार बस्नेतले डिभिजन वन कार्यालय पाल्पाका प्रमुख दीपक ज्ञवालीलाई सैनिक संग्रहालयको आवश्यक कागजात हस्तान्तरण गरेका छन् । यो संग्रहालय झण्डै १ करोड २५ लाख लागतमा निर्माण भएको जनाइएको छ । लुम्बिनी प्रदेश सरकार र नेपाली सेनाको वार्षिक विनियोजित रकमबाट उक्त संग्रहालय निर्माण गरिएको हो । गोरखदल गणको अगुवाईमा निर्माण भएको संग्रहालयको गत मंसिर १४ गते नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले उद्घाटन गरेका थिए । संग्रहालयको केही काम बाँकी रहेकाले सेनाले अहिले मात्र दरबार संग्रहालयलाई हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाही र २२ नं. बाहिनी अड्डाका सहायक रथी टिकाराम गुरुङकोे समेत उपस्थिति रहेको थियो ।

संग्रहालयमा नेपाली सेनबाट प्राप्त महत्वपूर्ण ऐतिहासिक दस्तावेज, हातहतियार, पोशाक तथा तस्वीरहरु राखिएको गोरख दल गणका गणपति जनककुमार बस्नेतले बताए । उनले नेपाली सेनाको इतिहास र परिचय बुझ्न संग्रहालय महत्वपूर्ण दस्तावेज बन्न सक्ने विश्वास व्यक्त गरे । सैनिक संग्रहालयमा सेनाको इतिहासका साथै वीर गोर्खा फौज र अंग्रेज सेनाबीच विक्रम संवत् १८७१ मा भएको लडाइँलाई स्मरण गराउने सामग्री राखिएको छ । तत्कालीन समयमा गोर्खा फौजले इस्ट इण्डिया कम्पनीका अंग्रेज फौजलाई हराएको जितगढी, नुवाकोट गढी किल्लाका सम्झनामा सामग्रीहरु राखिएको पाइन्छ । संग्रहालयभित्र तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्ताबेज, युद्वकालीन समयमा घरेलु सेना र अंग्रेज सेनाको पोशाक प्रदर्शनलगायत संग्रहित गरी राखिएको गोरखदल गण पाल्पाले जनाएको छ । यहाँ सेनाका ऐतिहासिक बहादुर पूर्वजहरु पृथ्वीनारायण शाह, वीर योद्धहरु कालु पाँडे, रामकृष्ण कुँवर, वंशराज पाण्डे, केहरसिंह बस्नेत, अभिमानसिंह बस्नेत र दामोदर पाण्डे लगायतको तस्बिर समेत राखिएको छ । सेनाका परमाधिपतिहरुको तस्वीर, कमाण्डर ईन चिफ र प्रधान सेनापतिहरुको पनि यहाँ तस्वीर सजाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update