देशको अर्बुद रोग बनेको भ्रष्टाचार दिन प्रतिदिन बढ्दो छ । व्यक्तिगत फाइदाको निमित्त सार्वजनिक हैसियतको दुरूपयोग गर्नु नै भ्रष्टाचार हो । यो निजी स्वार्थ र हितमा राज्य शक्तिको दुरूपयोग गराउने गम्भीर अपराध हो । यो गर्छु कसैले नभन्ने तर गर्न कसैले बाँकी नराख्ने कर्म भएको छ भ्रष्टाचार । यसलाई अविलम्ब नियन्त्रण गर्नुपर्छ । केही दिन अघि मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुनढुंगा खानी उत्खननमा भ्रष्टाचार भएको ठहर गर्दै पाल्पाका चार खानी उद्योग सहित नौ उद्योगलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ । राष्ट्रिय रुपमै खानी तथा भूगर्भ विभागका विभिन्न कर्मचारी, व्यापारीहरुको मिलेमतोमा खानी उद्योगमा भ्रष्टाचार भएको ठहर आयोगले गरेको छ । उसले गैरकानुनी र तोकिएको भन्दा बढी चुनढुंगा उत्खनन तथा दोहन गरेको आरोपमा नौ जना कर्मचारी, नौ ओटा सिमेन्ट उद्योगका सञ्चालक र नौ ओटा कम्पनीलाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरु विरुद्ध १ अर्ब २४ करोड ४५ लाख २६ हजार ६ सय ४३ रुपैयाँ विगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पाल्पामा सञ्चालित सिद्धार्थ मिनिरल्स प्रालि, सर्वाेत्तम सिमेन्ट प्रालि, डोलामाइड चुनढुंगा प्रालि र कञ्चन क्वारिज खानी उद्योगविरुद्ध आयोगमा मुद्दा दायर भएको छ । यसैगरी अख्तियारले मारुती सिमेन्ट, अन्नपूर्ण क्वेरिज प्रालि, उदयपुर मिनरल्स टेक प्रालि, युनाइटेड सिमेन्ट प्रालि, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड र त्यसका सञ्चालक विरुद्ध मुद्दा दायर गरेको छ । त्यस्तै अख्तियारले विभागका महानिर्देशक र उपमहानिर्देशक सहित अन्य कर्मचारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । अख्तियारको यो कदम आफैमा प्रशंसनिय छ । तर अख्तियारले मुद्धा दायर गर्दैमा आफ्नो कर्तव्य पुरा हुँदैन । त्यसका लागि भ्रष्टाचार गर्नेहरुलाई कानुनी कठघारमा ल्याई कारवाहीको प्रक्रिया अगाडि बढाउन तदारुकता देखाउनै पर्छ । तर, आयोग ‘ठूला माछा’को मतियार या उनीहरुलाई कुनै कारवाही नगर्ने निकाय बनेको उसका विगतका आचरणले देखाएको छ । यो भने दुखको कुरा हो । किनकि मुलुकका राजनीतिक दलहरु अपारदर्शी खर्चमा चल्छन् र त्यसका नेतृत्व वर्गलाई भ्रष्टाचार तथा अन्य अपराधमा उन्मुक्तिको श्रीपेचको संरक्षण प्राप्त छ । जसले गर्दा नेपालमा भ्रष्टाचार ऐँजेरु जसरी मौलाएको छ । यसर्थ खानी उत्खननमा भ्रष्टाचार गरेकाहरुलाई मात्र होइन भ्रष्टचारसँग मुछिएका जो कोहीलाई कारवाहीको दायरामा ल्याउनै पर्छ ।