
गुल्मी, राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले आगामी रणनीति सार्वजनिक गरेको छ । समितिले पत्रकार सम्मेलन गरी आगामी कार्यक्रम तथा रणनीति सार्वजनिक गरेको हो ।
राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष राम मल्ल ठकुरीले आगामी कार्यक्रम तथा रणनीति सार्वजानिक गरेका हुन् । रणनीति सार्वजनिक गर्दै अध्यक्ष मल्लले स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सबै सरोकारवालाहरुको उपस्थितिमा तत्काल अन्तक्र्रिया कार्यक्रम गर्ने बताएका छन् । उनले स्थानीय तहमा भएका भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीहरुको लगत संकलन गरेर उनीहरुलाई जग्गा प्रदान गर्ने कार्यक्रम अगाडि बढाइने बताए । विद्यालय र मन्दिरको जग्गा नक्साङ्कन गर्ने, वास्ताविक सुकुम्बासीहरुको पहिचान गरेर कसैलाई नछुटाई उनीहरुलाई जग्गा अनिवार्य रुपमा दिलाउने र आफ्नो कार्यकालमा सकेसम्म भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबवासीहरुको अन्त्य गर्ने रणनीति रहेको अध्यक्ष मल्लले बताए । समितिमा ८ जना कर्मचारीहरुले भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोवासीहरुलाई जग्गा दिलाउन काम गर्ने छन् । जसमा ४ जना राजनीतिक दलबाट नियुक्त हुने छन् ।
अध्यक्षमा ठकुरी नेकपा एकीकृत समाजवादी पार्टीबाट नियुक्ती भइसकेका छन् । अब नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबाट एक जना विज्ञ सदस्य र २ जना सदस्यहरु नियुक्त हुने छन् । अहिले पर्याप्त जग्गा नहुनेलाई राष्ट्रिय भूमि आयोगले कृषि गर्न चाहानेलाई सार्वजनिक जग्गा दिने समेत भएको छ । अव्यवस्थित बसोवासीहरुलाई २ रोपनीका दरले जग्गा प्रदान गरिने प्रावधान छ । गुल्मीमा ४ सय ३५ जना भूमिहिन दलित, ३ सय ९० जना भूमिहिन सुकुम्वासी र १ हजार ४ सय ४४ जना अव्यवस्थित गरेर २ हजार २ सय ६९ जना भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरु रहेका छन् । कार्यक्रममा पत्रकारहरुले कुनै राजनीतिक आस्थाका कारण वास्ताविक सुकुम्वासी नछुटाउन र गैर सुकुम्वासीलाई जग्गा दिने काम नगर्न राष्ट्रिय भूमि आयोग जिल्लाका अध्यक्ष राम मल्ल ठकुरीलाई आग्रह गरेका छन् । राष्ट्रिय भूमि आयोग अहिले देशभर २८ जिल्ला र लुम्बिनी प्रदेशका ४ जिल्लामा मात्र गठन भएको छ ।