Shittalpati
‘इन्टरनेशनल स्कुल अवार्ड’ गुल्मीको सिद्धबाबालाई

गुल्मी, ब्रिटिस काउन्सिलले प्रदान गर्ने ‘इन्टरनेशनल स्कुल अवार्ड’ गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालयले प्राप्त गरेको छ । योसँगै सामुदायिक विद्यालयतर्फ यो विद्यालय इन्टरनेश्नल स्कुल अवार्ड प्राप्त गर्ने गुल्मीको पहिलो विद्यालय बनेको छ । विद्यालयहरुलाई उत्कृष्ट स्तरको मान्यता दिनका लागि ब्रिटिस काउन्सिलले यो अवार्ड प्रदान गर्छ । अहिलेसम्म विश्वका २ सय ६७ विद्यालयहरुले यो अवार्ड प्राप्त गर्न सफल भएका छन् । विद्यालयले अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त गरेको अवसरमा विद्यालयमा बधाई ज्ञापन तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।

विद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रीसले ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्राप्त गर्नका लागि सहयोग पु¥याउने सबैमा धन्यवाद ज्ञापन गरे । प्रधानाध्यापक श्रीसले २०४३ सालमा पौवा जस्तो बचत घरबाट स्थापना भएको विद्यालय अहिले इन्टरनेश्नल स्कुल अवार्ड प्राप्त गर्नु जिल्लाकै गौरवको विषय भएको बताए । इन्टरनेश्नल स्कुल अवार्ड प्राप्तिका लागि विद्यालयमा विभिन्न परियोजनाका माध्यमबाट बालबालिकालाई सिकाइमा सहभागी गराईएको थियो । परियोजनाका माध्यमबाट बालबालिकाहरुलाई गरेर सिक्ने वातावरण बनाएर सिकाउँदा सिकाइ प्रभावकारी र दिगो हुने प्रधानाध्यापक श्रीसले बताए । परियोजनाका माध्यमबाट विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय विद्यालयका विद्यार्थीहरुसंँग सिकाइ आदान–प्रदान जस्ता महत्वपूर्ण कार्यहरुसँग विद्यालयलाई जोड्न सकिएको बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिल बहादुर थापाको अध्यक्षता रहेको कार्यक्रममा शिक्षा विकास तथा समन्व्य इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनीको प्रमुख आतिथ्यता रहेको थियो । रेसुङ्गा नगरपालिका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ज्ञवाली, रेसुङ्गा नगरपालिका–८ का वडाअध्यक्ष भरत भलामी, वडा सदस्य सीता आचार्य, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु लाल बहादुर भुजेल, यम बहादुर विश्वकर्मा, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल, रुद्र बहादुर भुजेल लगायतको सहभागिता रहेको थियो । विद्यालयका सहायक प्रधानाध्यापक युवराज अर्यालको स्वागत, शिक्षक टिका खड्काको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update