Shittalpati
शिक्षकका लागि दुई लाख चालिस हजारभन्दा बढी आवेदन

पाल्पा, शिक्षक सेवा आयोगले खुलाएको विभिन्न तहको शिक्षक पदका लागि दुई लाख ४० हजार ४ सय ५२ जनाको आवेदन परेको छ । विभिन्न मितिमा माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तहमा १७ हजार २ सय ३३ शिक्षक पदका लागि उक्त संख्यामा उम्मेद्वारको आवेदन परेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । उनका अनुसार आयोगले एक हजार ५ सय ४२ रिक्त शिक्षक पदपूर्तिका लागि खुला गरेको विज्ञापनमा ३६ हजार ५ सय ८२ जनाले आवेदन दिएको तर ३५ हजार ५ सय ४५ जनाले मात्रैले फारम दस्तुर बुझाएका छन् ।

यस्तै निम्न माध्यामिक तहको २ हजार ५ सय ९८ शिक्षक पदको लागि ८८ हजार ५ सय १९ जनाले आवेदन दिएको मध्ये ८५ हजार ६ सय ५३ जनाले फारमको रकम बुझाएका छन् । त्यस्तैगरी प्राथमिक तहको १३ हजार ९३ पदको लागि भएको विज्ञापनमा एक लाख १५ हजार ३ सय ५१ जनाले आवेदन दिएका छन् भने एक लाख १३ हजार ३ सय ८७ जनाले फारम भरेको रकम बुझाएको आयोगले जनाएको छ । आयोगको तथ्यांक अनुसार इच्छुक उम्मेद्वारले फारमको संख्या भन्दा फारम भरे बापत तिरिने रकम बुझाउनेको संख्या कम देखिएको छ । यस्तो हुनुको कारण कुनै उम्मेदवारले फाराम भरेर रकम नतिरी फेरि अर्को जिल्लाबाट फाराम भरी पैसा तिर्दा संख्यामा फरक पर्न गएको अनुमान गरेको छ । आयोगले मंसिर २९ अनुसार माध्यामिक तहको विज्ञापन गरी माघ ८ सम्म आधारभूत तहमा १७ गतेसम्म र प्राविका लागि २२ गतेसम्म फारम भर्ने समयसीमा तोकेको थियो । आयोगको अनुसार मावि तहका शिक्षण सेवाका लागि एक लाख ४४ हजार ३ सय ८१ जनाले लाइसेन्स लिएका छन् । निमाविमा तहको शिक्षण सेवाका लागि तीन लाख ७० हजार १२ जनाले र प्रावि तहको शिक्षण सेवाका लागि दुई लाख दुई हजार ७ सय १२ जनाले लाइसेन्स लिएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update