Shittalpati
स्थानीय तहको निर्वाचन वैशाख ३० मा हुने

पाल्पा, सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

आयोगले जेठ ४ गते निर्वाचन गराउने प्रस्ताव गरेको थियो । सरकारले वैशाख ३० गते एकै चरणमा स्थानीय तह चुनाव गराउने निर्णय गरेको छ । वैशाख ३० गते वा जेठ ४ गर्दा कानुनमा खासै परिमार्जन गर्नु नपर्ने जानकारी निर्वाचन आयोगले गराएको थियो । मन्त्रिपरिषद्को बैठक बस्नुअघि सरकारले निर्वाचन आयोगका पदाधिकारीसँग यसबारे परामर्श गरेको थियो । आयोगका पदाधिकारीहरूले वैशाख ३० गतेका लागि निर्वाचन मिति उपयुक्त हुने सुझाव दिएका थिए ।

स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ । साथै संविधानले स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना गरेको छैन ।४ जेठमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको हो ।

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update