कृष्ण पोखरेल
पाल्पा, जिल्लाको सदरमुकाम तानसेन बजारमा दुई हप्तादेखि खानेपानी नआएपछि उपभोक्ता आन्दोलित भएका छन् । तानसेन खानेपानी उपभोक्ता समितिको लापरवाहीका कारण दुई हप्तासम्म पनि खानेपानी नआएपछि तानसेनका उपभोक्ताहरु आन्दोलित भएका हुन् । घर–घरमा खानेपानीको धारा नआएपछि तानसेनवासीहरु नेपाली काँग्रेस तानसेन नगर समितिको नेतृत्वमा आन्दोलनमा उत्रिएका छन् ।
मानिसको आधारभूत आवश्यकता जस्तो खानेपानीका विषयमा समिति गम्भीर नभएको भन्दै तानसेनवासी आक्रोसित भएका छन् । उपभोक्ताहरुको आक्रोसलाई मध्यनजर गर्दै नेपाली काँग्रेस तानसेन नगर समितिले तानसेन खानेपानी उपभोक्ता समितीलाई ध्यानाकर्षण गराएको छ । समिति उपभोक्ताप्रति उत्तरदायी नभएको, दुई हप्ता हँुदासम्म बिग्रिएको खानेपानी मर्मत गर्न समिति सक्रिय नभएको, उपभोक्ता समितिका पदाधिकारीहरुले गैर जिम्मेवार पूर्वक जवाफ दिने गरेको, उपभोक्ता समितिले काम गर्न नसकेको, नगरवासी खानेपानीको अभावमा छट्पटाएकाले बाध्य भएर नेपाली काँग्रेस तानसेन नगर समितिले उपभोक्ता समितिलाई ध्यानाकर्षण गराएको नगर सभापती सूवर्णमुनी शाक्यले बताए ।
उपभोक्ता समितिका पदाधिकारीले कार्यालयमा उपस्थित नहुने, गैर जिम्मेवारीपूर्वक विभिन्न बहानावाजी गरी उपभोक्तासँग फेस टु फेस गरी जवाफ दिन नसक्ने अवस्थाले वर्तमान उपभोक्ता समितिबाट तानसेन खानेपानीको व्यवस्थापन नहुने सभापति शाक्यले बताए । खानेपानीमा के समस्या भइरहेको छ ?, किन सयममा बिग्रिएको सरसमान ल्याउन सकिएन ? किन अतिरिक्त सरसमानको व्यवस्था गरिएको छैन ? वास्तविक समस्या के हो ? इच्छाशक्ती नभएर होकी ? अन्य कारणले समयमा काम नभएको विषयमा पदाधिकारीसँग जानकारी लिन खोज्दा समेत समय नदिएर उम्किने गरेकाले बाध्य भएर पानीको लागि डेलिगेसन आउनु परेको काँग्रेस नगर सभापती शाक्यले बताए । तानसेनका जनता सोझा सिँधा छन् भनेर समितिले मनपरी गरेको नेपाली काँग्रेस क्षेत्र नं २ प्रदेश क का सभापती लक्ष्मीप्रसाद अधिकारीले बताए । वर्तमान कार्यसमितिको समयअवधी सकिएकाले तत्काल समितिको अधिवेशन गरी नयाँ नेतृत्वलाई खानेपानीको जिम्मेवारी हस्तान्तरण गर्न समेत सभापती अधिकारीले माग गरे ।
रानीमहलको पानी अझै तानसेनका उपभोक्तालाई खुवाउन सकिने अवस्था नभएको शुद्धिकरणको काम भइरहेको, भुल्केको ४ नं स्टेशनको मोटर बिग्रिएकाले खानेपानीकोे नियमित आपूर्ति नभएको खानेपानी उपभोक्ता समितिका कर्मचारी भविश्वर ज्ञवालीले बताए । बिग्रिएको पम्पको समान काठमाडौंबाट झिकाएर फिट गर्दा मिलेन र पुनः भारतको दिल्लीबाट अर्काे समान मगाउँदा ढिला भएको उनले बताए । समान भन्सारमा आइसकेकाले एक दुई दिनभित्र पम्पमा फिट गरेर खानेपानी वितरण गरिने उपभोक्ता समितिले जनाएको छ । तानसेनमा समितिको लापरवाही कारण तानसेनवासीले खानेपानीको समस्या भोग्दै आएका छन् ।