
पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाका शिक्षकहरुलाई विषयगत क्षमता विकास सम्बन्धी तालिम दिइएको छ । शैक्षिक गुणस्तर विकासका लागि यहाँका प्राथमिक तहमा अध्यापन गराउने शिक्षकहरुलाई पाँच दिने विषयगत क्षमता विकास सम्बन्धी आधारभूत तालिम दिइएको हो ।
माथागढी गाउँपालिका र शिक्षा शाखाको आयोजनामा सञ्चालन गरिएको तालिम कसेनीमा सकिएको छ । तालिमको एक औपचारिक कार्यक्रमका बिच समापन गरिएको हो । तालिमको गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले समापन गरेकी हुन् । तालिमको समापन गर्दै उपाध्यक्ष भट्टराईले शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउनका लागि तालिमले थप मद्दत पुग्ने बताईन् । उनले तालिममा सिकेका कुराहरू विद्यालयमा प्रयोग गर्न सहभागी शिक्षकहरुलाई आग्रह गरिन् । शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले गाउँपालिकाले शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सहित योजना अगाडि बढाएको उपाध्यक्ष भट्टराईले बताइन् । कार्यक्रममा दिव्य ज्योति माध्यमिक विद्यालयका प्र.अ.नारायण प्रसाद अधिकारीले तालिमले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न महत्वपूर्ण टेवा पुग्नेमा विश्वास व्यक्त गरे । उनले शिक्षकका लागि समय समयमा तालिम सञ्चालन गर्न सके विद्यालयको शैक्षिक गुणस्तरलाई समेत माथि उठाउन सकिने धारणा व्यक्त गरे । कार्यक्रममा माउन्ट भ्यालीका प्र.अ.प्रेम राज खरालले तालिमबाट सिकेका कुराहरू ब्यवहारमा लागू गर्नुपर्ने बताए । तालिममा सहभागीको तर्फबाट जितबहादुर विश्वकर्मा र अस्मिता बस्यालले तालिमले बिर्सिसकेकका कुराहरु पुर्नताजागी बनाएको भन्दै तालिम लिन पाउदा आफुहरु उत्साहित भएको बताए । आगामी दिनहरुमा पनि यस्ता खालका तालिमहरु सञ्चालन गर्न उनीहरुले गाउँपालिकालाई आग्रह समेत गरे ।
तालिमबाट शिक्षकलाई विद्यालयमा गरिने शिक्षण सिकाइ पद्दती र कक्षाकोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षण सिकाई विधि र प्रक्रियाको बारेमा सहभागिको ज्ञान र सिपमा अभिवृद्घि भई विद्यालय तहमा पाठ्यक्रममा भएको विषयगत पाठको सहजीकरण गर्न र शिक्षण सिकाइमा मद्दत पुग्ने अपेक्षा गाउँपालिकाले लिएको छ । तालिमको प्रक्षिक लोकेन्द्र थापाले सहजिकरण गरेका थिए । दिव्य ज्योति माध्यमिक विद्यालयका प्र.अ.नारायण प्रसाद अधिकारीको अध्यक्षता, गाउँपालिकाका शिक्षा संयोजक अशेष भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियोे ।