
पाल्पा, कोरोना भाइरसको जोखिमका कारण स्थगित भएका लोक सेवा आयोगको परीक्षाहरु फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् । आयोगले परीक्षाको नयाँ तालिका सार्वजनिक गर्दै फागुन ६ गतेदेखि परीक्षा सञ्चालन गर्न लागेको हो । जसअनुसार उपसचिव वा सो सरह, शाखा अधिकृत वा सो सरह, स्वास्थ्य सेवातर्फ नवौं, आठौं र सातौं तहका विभिन्न पदका लिखित परीक्षाहरू फागुन ७ गतेदेखि सुरू गर्ने आयोगले बताएको छ । आयोगले स्थगित भएका सबै परीक्षा २०७९ सालको वैशाख १४ गतेसम्म सम्पन्न हुने उल्लेख गरेको छ ।
परीक्षा सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवं आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०७७ (संशोधनसहित) पालना गरी सञ्चालन हुने आयोगले जनाएको छ । .संक्रमण तीव्र गतिमा फैलिएका कारण यसअघि ६ माघमा आयोगले परीक्षा तालिका निर्धारण भइसकेका विभिन्न तहका परीक्षाहरू स्थगित गरेको थियो । आयोगले अब पूर्वनिर्धारित ती परीक्षाहरू स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर गर्ने भएको हो ।