Shittalpati
रामपुरमा सीताकुण्ड सहकारीद्वारा पशु आहार विक्री सुरु

इमान सिं राना
पाल्पा(रामपुर),सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले शनिबार देखि पशु आहार विक्रीको सुरुवात गरेको छ । सहकारीले पशु आहारसंगै बीउ विजन संकलनको पनि सुरुवात गरेको हो । रामपुर ५ नहर अफिस लाईनमा सन्तुलित पशु आहार विक्री तथा बीउ विजन संकलन कक्ष स्थापना गरी पशुहरुको दाना विक्री सुरु गरिएको छ ।

विक्री तथा संकलन केन्द्रको शुभारम्भ गर्दै जिल्ला भेटनरी तथा पशु विज्ञ केन्द्र पाल्पाका प्रमुख डा.चन्द्रबहादुर रानाले पशुहरुको दुध तथा मासुको लागि सधै हरियो घाँससंगै दानाको अत्तिआवश्यक पर्ने बताए । उनले बजारमा आएका दाना सबै एउटै गुणस्तर नहुने भएकाले उपयुक्त दान छनोटका लागि विक्री केन्द्रले सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे । रानाले रामपुर पशुपालनको लागि उपयुक्त भूमी रहेको भन्दै दानामा आत्मनिर्भर बनाउनका लागि कच्चा पदार्थ उत्पादनमा पनि ध्यान दिनु पर्ने बताए ।

सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका पूर्व अध्यक्ष कमलराज भट्टराईले यस्ता विक्री केन्द्र स्थापना भएमा किसानहरु अलमलमा पर्नु नपर्ने बताए । सहकारी संस्थाका अध्यक्ष कृष्ण कुमार अर्यालले बजारमा दाना विक्रेताले फरक फरक कम्पनीसंग सम्झौता गर्दा कृषकहरुले कम गुणस्तरको दाना खुवाउनु पर्ने र बाहिरबाट आफैले ल्याउँदा ढुवानी भाडा बढी पर्ने भएकाले सहजताको लागि विक्री केन्द्र सञ्चालन गरिएको बताए । अध्यक्ष अर्यालको अध्यक्षता, संस्थाका व्यवस्थापक भवीनारायण मरासिनीको स्वागत र सचिव गंगा प्रसाद श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

 

प्रकाशित मिति: शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update