
पाल्पा, वाइसियल तिनाउ गाउँ कमिटिले खानी उद्योगबाट अवधै धन्दा नरोकिए उत्खन्न गर्न नदिने चेतावनी दिएको छ । वाइसियले तानसेनमा पत्रकार सम्मेलन गरी तिनाउ गाउँपालिका भित्र सञ्चालित खानी उद्योगहरुले तत्काल अवैध धन्दा नरोके चुनढुंगा उत्खनन् गर्न नदिने बताएको हो ।
सरकारलाई कर नबुझाउने र प्राकृतिक दोहन गरी विपत् निम्ताउने कार्यप्रति वाइसियलले आपत्ति जनाउदै गैरकानुनी काम बन्द गर्न खानी उद्योगहरुलाई आग्रह गरेको छ । खानीबाट चुनढुंगा अव्यस्थित निकासीले उक्त क्षेत्रका नागरिकलाई उठीबाँस हुने स्थिति सिर्जना भएको वाइसियलको ठहर छ । राज्यलाई कर छली गरी चुनढुंगा निकासी कार्य अनुचित भएकाले तत्काल कानुनी दायरा भित्र नआए खानीबाट चुनढुंगा निकासी बन्द गर्ने वाइसियल गाउँकमिटिका अध्यक्ष कमल श्रेष्ठले बताए । श्रेष्ठका अनुसार स्थानीय सरकारको समेत चुनढुंगा खानीसँग साँठगाठ रहेको हुन सक्ने बताए । खानी प्रभावित क्षेत्रका नागरिकहरुको स्वास्थ्य, आयआर्जन तथा मानसिक रुपमा समस्या सिर्जना हुने गरी खानी सञ्चालन हुँदा समेत स्थानीय सरकार नागरिकका पक्षमा मौन बस्नु अनुचित भएको उनको भनाई छ ।
समस्या समाधानमा गाउँपालिका उदासिन देखिएको भन्दै वाइसियले भोली गाउँपालिका घेराउ गर्ने र खानी बन्द गर्नेसम्मका चरणबद्ध आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ । वाइसिएलले आफ्नो आन्दोलनमा सहयोग गर्न र प्राकृतिक दोहन रोक्नमा सहयोग गर्न राजनीतिक दल, पत्रकार, नागरिक समाजसबैमा आग्रह समेत गरेको छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष भगवान भण्डारी, सचिव यज्ञमुर्ति तिमिल्सेना, प्रेस सेन्टरका केन्द्रीय सदस्य जीवलाल सुवेदी लगायतले खानीबाट हुँदै आएको अवधै धन्दा तत्काल बन्द गरिनुपर्नेमा जोड दिएका थिए । सन्तोष रावलको सञ्चालनमा कार्यक्रम भएको थियो ।