.jpg)
गुल्मी, जिल्ला प्रशासन कार्यालय गुल्मीले आलोपालो प्रणालीद्वारा सेवा प्रवाह गर्ने भएको छ । कार्यालयका कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि प्रशासनले माघ २३ गते देखि आलोपालो प्रणालीद्वारा सेवा प्रवाह गर्ने भएको हो ।
प्रशासनले अधिकांस कर्मचारीमा कोरोना देखिएपछि माघ ११ गते देखि शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेकका अन्य सेवा स्थगन गरेको थियो । माघ १९ गते बुधबार देखि राहदानी वितरण, दलित, आदिवासी, जनजाति, पेन्सन सम्बन्धि विभिन्न कागजात प्रमाणित सम्बन्धी कार्यको सेवा प्रवाह गर्ने र माघ २३ गतेदेखि आलोपालो प्रणालीद्वारा नागरिकता सम्बन्धी सेवा प्रवाह गर्ने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले बताए । उनका अनुसार कोभिड–१९ संक्रमण जोखिमलाई ध्यानमा राखेर बार अनुसार विभिन्न पालिकाका नागरिकहरुलाई आलोपालो प्रणाली अनुसार सेवा प्रदान गरिने छ । जसमा आइतबार र सोमबार रुरुक्षेत्र, सत्यवती, कालीगण्डकी र चन्द्रकोट गाउँपालिकाका नागरिकहरुलाई सेवा प्रवाह गरिने शर्माले जानकारी दिए । मंगलबार र बुधबार मुसिकोट नगरपालिका, मालिका, मदाने र इस्मा गाउँपालिकाका नागरिकहरुलाई सेवा प्रवाह गरिने छ । त्यस्तै बिहिबार र शुक्रबार रेसुङ्गा नगरपालिका, गुल्मीदरबार, धुर्कोट गाउँपालिका र छत्रकोट गाउँपालिकाका नागरिकहरुलाई सेवा प्रवाह गरिने गैरेले जानकारी दिए । सेवा लिन आउँदा खोप कार्ड अनिवार्य गरिएको छ ।
खोप कार्डको फोटो मोबाइलमा भएपनि देखाउनुपर्ने र स्वास्थ्य सुरक्षाका मापदण्डहरुको अनिवार्य पालना गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए ।