रामपुर (पाल्पा), दुर्गादेवी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था रामपुर–२ पाल्पालाई कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको छ । रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजना मार्फत सहकारीलाई कृषि एम्बुलेन्स प्रदान गरिएको हो ।
हेफर इन्टरनेशनलको ५० प्रतिशत अनुदान, रामपुर नगरपालिकाको पाँच लाख, सहकारीको सात लाख २४ हजार ५ सय ५६ गरी २४ लाख ४९ हजार ५ सय ५६ को लागतमा एम्बुलेन्स खरिद गरिएको हो । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले नगरपालिकाले कृषि तथा पशुपालनमा आकर्षित गर्नका लागि विभिन्न संघ–संस्थासँग समन्वय गरी कार्यक्रम सञ्चालन गरेको बताए । उनले कृषि एम्बुलेन्सको प्रयोगका लागि कृषिजन्य उत्पादन बढाउनु आवश्यक रहेको भन्दै नगरपालिकाले पनि बजारीकरणमा आवश्यक सहयोग गर्ने बताए । रामपुर नगरपालिका र हेफर इन्टरनेशनल नेपालको साझेदारी तथा पछौटेपन उन्मूलन समाज बेस नेपालको सहजीकरणमा सञ्चालित परियोजनाले कृषि तथा पशुजन्य उत्पादन अभिवृद्धि तथा बजारीकरणको लागि एम्बुलेन्स प्रदान गरेको हो । कृषि शाखा प्रमुख रामहरि पाण्डेयले रामपुरमा कृषिजन्य उत्पादन वृद्धि हुँदै गएकाले एम्बुलेन्सको सही सदुपयोग गरी आर्थिकस्तर उत्थानमा लाग्न आग्रह गरे । –रासस