
पाल्पा, तानसेनका महिलाहरुलाई नेतृत्व विकास तालिम दिइएको छ । मैत्री क्लव तानसेन र तानसेन नगरपालिका–३ वडा कार्यालयको आयोजनामा महिलाहरुलाई तालिम दिइएको हो । महिलाहरुको क्षमता अभिवृद्धि गर्नुको साथै नेतृत्वमा विकास पुग्ने उद्देश्यले दुई दिने तालिम दिइएको क्लवका पूर्व अध्यक्ष बेशान्तर शाक्यले बताए । तालिमको प्रमुख अतिथि तथा तानसेन नगरपालिका–३ का वडा अध्यक्ष महेशलाल शाक्यले उद्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै अध्यक्ष शाक्यले घरमै सिमित रहेका महिलाहरुलाई समाजमा नेतृत्व गर्न तालिमले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष त्रिरत्नलाल शाक्य, तानसेन नगरपालिकाका सामाजिक विकास अधिकृत भरत आचार्य, प्रशिक्षक पाल्पा जेसिसका निर्वतमान अध्यक्ष सन्ध्या बज्राचार्य,पूर्व अध्यक्ष राजिव शाह लगायतले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न तालिममा सहभागीहरुलाई आग्रह गरे । तालिममा ३५ जना महिलाको सहभागिता रहेको थियो । क्लवका अध्यक्ष धिरेन्द्रलाल शाक्यको अध्यक्षता, सचिव सुरेश श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।