कृष्ण पोखरेल
पाल्पा, तानसेन नगरपालिकाले नगरका युवाहरुलाई विना धितो सहुलियत दरमा ऋण प्रदान गरेको छ । नगरका १४ वटै वडाहरुका युवाहरुलाई उद्यमी बनाउने अभियानाका साथ तानसेन नगरपालिकाले ग्लोवल आई एमईबैक, हेफर ईन्टरनेशनल, ग्रामिण आर्थिक विकास संघ रेडाको साझेदारीमा युवाहरुलाई विना धितो ऋण सहयोग गरेको हो ।
युवालाई खुसी र सुखी बनाउदै आफ्नै ठाउँमा स्वरोजगार बनाउदै आर्थिक रुपमा दरिलो बनाउदै स्वाभिमानी नेपाली बनाउने अभियानाका साथ नगरपालिकाले आफै जमानी बसेर युवाहरुलाई ऋण प्रदान गरी उद्यमी बनाउदै आएको छ । युवाहरुको जोश जागर सिपलाई उद्योग रुपान्तरण गरी, आफ्नै परिवार साथीभाईसँग बसेर हासी खुसी व्यवसायी बनाई रोजगारी सिर्जना गर्ने, आफु पनि काम गर्ने, दुई चार जनालाई रोजगारी समेत दिने उद्देश्यले तानसेन नगरपालिकाले दोस्रो चरणामा नगरका ३० जना युवाहरुलाई सहुलियत दरमा ऋण प्रदान गरेको हो ।
तानसेन नगरपालिका नगर प्रमुख, युवा उद्यमी, सम्बन्धित वडाका वडा सदस्य, कार्यपालिका सदस्यहरुको रोहवर तथा जमानीमा युवाहरुलाई विना धितो ऋण प्रदान गरिएको हो । युवाहरुले ग्लोवल आई्एमई बैकबाट न्युनतम ३ लाख देखी ९ लाख रुपैयाँसम्म सहुलित ऋण पाएका छन् । महिला उद्यमीका लागि ४ प्रतिशत र पुरुष उद्यमीको लागि ५ प्रतिशत सहुलियत व्याजदरमा ऋण उपलब्ध गराईएको छ ।
१८ बर्ष देखी ४० बर्ष सम्मका युवा, वैदेशिक रोजगारीबाट फर्किएका, स्वदेशमा स–सानो व्यवसाय गरे पनि पुँजीको अभावमा उत्पादन वृद्धि गर्न नसकेका युवा, महिला, जनजाती, दलित, उत्पिडित जातीहरुलाई ऋण प्रवाहमा तानसेन नगरपालिकाले पहिलो प्राथमिकता दिदै आएको नगर प्रमुख अशोक कुमार शाहीले बताए । पँुजी अभावको कारण उद्यमीहरु पलायमान हुन नपरोस्, स्वदेशमै रहने वातावरण बनोस्, आर्थिक रुपमा युवाहरुबाट नै कृषि क्रान्ती होस् र राष्ट्रिय अर्थतन्त्रमा टेवा पुगोस् भनी स्थानीय सरकारमा सबैभन्दा पहिले तानसेन नगरपालिकाले विना धितो युवाहरुलाई सहुलियत ऋण अभियान शुरु गरेको नगर प्रमुख शााहीले बताए ।
तानसेन नगरपालिकाले यस अघि नेपाल बैक लिमिटेड संगको सहकार्यमा ६८ जना युवाहरुलाई करीव ४ करोड ५० लाख सहुलियत ऋण प्रदान गरेको छ भने अन्य युवा उद्यमीहरुको लागि मुक्तिनाथ विकास बैक तानसेन शाखासँग पनि सम्झौता गरेको छ । अन्य युवाहरुलाई ऋण प्रदानको लागि काम भईरहेको नगर प्रमुख शाहीले बताए । कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्वर पाण्डेले तानसेनका युवालाई आथिक रुपमा सुखी खुसी बनाउन नगर सरकारले युवाहरुलाई विना धितो सहुलियत ऋण अभियान कार्यक्रम गर्दै आएको बताए । तानसेन नगरपालिका भित्र यो अभियानबाट कृषि र पशु क्षेत्रको उत्पादन वृद्धि हुने प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।
ग्रामिण आर्थिक विकास संघ रेडाले सहुलियत दरमा ऋण पाएका उद्यमीहरुलाई सफल बनाउन उद्यमीहरुको स्थलगत निरीक्षण गर्ने, युवाहरुलाई फर्म अनुसार कृषि तथा पशु पालनका तालिम प्रदान गर्ने, उत्पादनलाई बजारसँग जोड्ने काममा सहजीकरण गर्दै आएको निर्देशक लिला बहादुर कार्कीले बताए । युवा उद्यमीको आवश्यकता अनुसार कृषि तथा पशु प्राविधिकहरुलाई घर–घरमा पठाएर सहयोग गर्दै आएको निर्देशक कार्कीले बताए । अहिले नगरपालिका भित्र करीव ३ सय भन्दा युवाहरु यो अभियानमा जोडिएका छन् ।
कार्यक्रममा रेडाका डा. लेखनाथ अधिकारीले जुन प्रयोजनको लागी ऋण लिएको हो सोही प्रयोजनमा मात्र लगानी गर्न अन्यथा ऋणहरु कालोसुचीमा समेत पर्ने बताए । कृषि तथा पशु उत्पादनमा बृद्धि गर्न यो अभियान शुरु गरिएको डा. अधिकारीले बताए । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका उपसभापति भरत शर्माले नगर सरकारले युवाहरुलाई विना धितो ऋण प्रवाह गर्ने काम आफैमा प्रशंसनिय रहेको बताए । ग्लोवल बैकका शाखा प्रमुख विर बहादुर सारुले स्वदेशमै केही काम गरौ उद्यमी बनौ भन्ने सोच भएका युवाहरुलाई पैसाको अभाव नहुने ग्लोव बैक आवश्यकता अनुसार लगानी गर्न तयार रहेको बताए । अहिले ९ लाख सम्म ऋण पाएका उधमीहरु लाई ९ करोड सम्म ऋण प्रवाह गर्न सकिने भएकोले मिहिनेत, ईमान्दारीताका साथ उद्यमीहरुलाई काम गर्न बैकका शाखा प्रमुख सारुले आग्रह गरे ।


-1762576335.jpg)