Shittalpati
आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै

पाल्पा, आज विश्व प्राथमिक उपचार दिवस मनाइँदैछ । नेपालसहित विश्वभर विगतमा जस्तै विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो  प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिवार विश्व प्राथमिक उपचार दिवस मनाइन्छ ।

देशभर प्राथमिक उपचार पद्धतिको विकास गरि मृत्युदर कम गर्ने, स्वास्थ जनचेतना फैलाउने, देशमा स्वास्थ्यमा परिवर्तनको संवाहक बन्दै देशका लागि केही योगदान दिने दिवसको उद्देश्य रहेको छ । प्राथमिक उपचार भनेको दुर्घटनामा परेका व्यक्तिलाई उसको समस्याको सही आंकलन गरी त्यसको निदानका लागि तुरुन्तै प्रदान गरिने सेवा हो । अर्को अर्थमा भन्दा कुनै व्यक्तिलाई चोटपटक लागेपछि वा ऊ बिरामी भएपछि अस्पताल पु¥याउनुअघि गरिने सबैभन्दा सुरुको उपचार पद्दतिलाई प्राथमिक उपचार भनिन्छ । कुनै पनि दुर्घटनामा घाइते हुनेलाई बचाउन प्राथमिक उपचारको महत्वपूर्ण भूमिका रहेको हुन्छ । दिवसमा प्राथमिक उपचार ज्ञान र सीपको प्रवद्र्धन गर्ने खालका अभिमूखीकरण, कृत्रिम घटना अभ्यास, आकस्मिक प्राथमिक उपचार सीप प्रवद्र्धन लगायतका गतिविधिहरू आयोजना गर्ने गरिन्छ । नेपालमा हरेक वर्ष सयौं जनाले सडकमा हुने दुर्घटनाका कारण ज्यान गुमाउने गरेका छन् । 

दुर्घटनामा घाइते बन्न पुगेकाहरूलाई सामान्य प्राथमिक उपचार प्रदान गर्ने हो भने पनि उसको ज्यान जोगिने सम्भावना बढेर जान्छ । सानादेखि ठूलासम्मका दुर्घटनामा घाइते हुन पुगेकालाई प्राथमिक उपचार दिने हो भने उसको ज्यान जोगाउन पनि सहज हुन्छ । प्राथमिक उपचारले दुर्घटना वा आपत्कालीन अवस्थामा घाइतेको अवस्था थप गम्भीर हुन नदिन र जीवन जोगाउन महत्वपूर्ण भूमिका खेल्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरू बताउँछन् । सामान्य चोटपटक, रक्तस्राव, जलन, बेहोस हुने अवस्था, हड्डी भाँचिनेलगायतका घटनामा सही समयमा सही प्राथमिक उपचार दिन सकेमा जोखिम कम गर्न सकिन्छ ।नेपालमा पनि प्राथमिक उपचारसम्बन्धी ज्ञान र सीपलाई समुदायस्तरसम्म पुर्‍याउन विभिन्न संघसंस्था तथा स्वास्थ्यसम्बन्धी निकायले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

विशेषगरी विद्यालय, सार्वजनिक स्थल, कार्यस्थल तथा विपद् जोखिमयुक्त क्षेत्रमा प्राथमिक उपचारको आधारभूत ज्ञान आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ । विशेषज्ञहरूका अनुसार प्राथमिक उपचारका नाममा गलत तरिका अपनाउँदा घाइतेको अवस्था झन् बिग्रन सक्ने भएकाले आधारभूत प्राथमिक उपचारको तालिम लिन आवश्यक छ । आपत्कालीन अवस्थामा आत्तिनुभन्दा सुरक्षित रूपमा अवस्था मूल्याड्ढन गरी आवश्यक सहयोग गर्ने र सकेसम्म छिटो स्वास्थ्य संस्थामा पु¥याउने उनीहरूको सुझाव छ । विश्व प्राथमिक उपचार दिवसले हरेक नागरिकलाई प्राथमिक उपचारसम्बन्धी आधारभूत ज्ञान र सीप हासिल गर्न प्रेरित गर्दै आपत्कालीन अवस्थामा जीवन बचाउने क्षमता विकास गर्न सन्देश दिने गरेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update