यस वर्षको स्वस्थानी व्रतकथा तथा माघ स्नान सोमबारदेखि शुरु भएको छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर व्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ । नेपाली समाजमा स्वस्थानीको महिमा महत्वपूर्ण रहेको छ । यसकारण घर–घरमा स्वस्थानी माताको विधिपूर्वक पूजा–आराधना गरी एक महिना कथा वाचन गरी सुन्ने र सुनाउने गरिन्छ । सामाजिक पाटोलाई हेर्ने हो भने गोमा ब्राह्मणीको कथाले प्राचिन समयमा पनि बालबालिकाहरुका नराम्रा असरहरु प्रस्तुत गर्दै बालबालिका बारे जनतचेतना फैलाएको पाइन्छ । यसले संसारको श्रृष्टी अनि शिव पार्वती सम्बन्धका कुराहरु मार्फत धेरै ठाउँमा नारी पुरुषबीचको लैङ्गिक समानताको वकालत पनि गरेको छ ।
श्री स्वस्थानी व्रत कथाका केहि सन्दर्भ उठाएर सनातन धर्मको आलोचना नभएको भने हैन तर पनि मानिसलाई आध्यात्मिक तर्फ लैजान स्वास्थानी व्रत कथाको महत्वपूर्ण कुराहरु कथामा उल्लेख गरिएको छ । विशेषगरी विवाहित महिलाहरुद्वारा आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायु अनि अविवाहित महिलाहरुद्वारा आफ्नो भावी पति असल होस् भन्ने प्रार्थना स्वरूप यो व्रत बस्दै आएको पाइन्छ । यसमा प्रेमको सन्देश सतीदेवीलाई महादेवले कैलाश र आफ्नो ज्योति स्वरूपको दर्शन दिएपश्चात् यी दुई पतिपत्नी बीच सुमधुर सम्बन्ध रहेको स्वस्थानीमा देखाइएको छ । सतीदेवीले आफ्ना पतिले खाने भाँङ, धतुरोको हिफाजातसँग राखिदिने र भोजन पतिले नखाएसम्म आफूले पनि नखाने जस्ता कार्यबाट पतिप्रेम दर्शाउँछ । देहत्याग गरेकी सतीदेवीलाई समेत बोकेर विक्षिप्त भई हिँड्नु सतीदेवीको सम्पूर्ण अंगपतन भइसक्दा पनि चाल नपाउनु महादेवको पत्नीप्रतिको प्रेम देखिन्छ । यसर्थ पनि स्वस्थानी कथालाई नेपाली समाजमा रहेका विकृत तथा विसंगतिलाई हटाई स्वस्थ समाज निर्माण गर्ने सन्देशको रूपमा लिन सकिन्छ । स्वस्थानी व्रत माहात्म्यमा आएको स्वस्थानीको उपासना गर्दा सबै आवश्यकता पूरा हुन्छ भन्ने प्रसङ्गले पनि हिन्दू धर्मालम्बीलाई गहकिलो सन्देश दिन खोजेको बुझिन्छ । स्वस्थानी व्रतकथाको अन्तिम अध्यायमा गोमा ब्राह्मणीले आफ्ना दुई बुहारी चन्दावती र लावण्यवतीलाई विभिन्न उपदेश दिई ढुकुटीको साँचो हस्तान्तरण गरेको प्रसंगबाट हाम्रो नेपाली समाजमा पनि नयाँ पुस्तालाई मौका दिइनुपर्ने सन्देश पाइन्छ । साथै काम र उमेरले पाका भएको व्यक्तिको सम्मान गर्दै उनीहरूले सिकाएको पाठलाई सधैं मनन एवं अध्ययन गर्ने हो भने पक्कै पनि समाजको चौतर्फी विकास हुने कुरामा कसैको दुइमत नहोला । अतः हाम्रो समाजमा चलिआएको स्वस्थानी कथाले नेपाली समाजमा रहेका विकृति तथा विसंगतिलाई हटाई स्वस्थ समाज निर्माण गर्ने सन्देश दिएको छ ।