Shittalpati
गुल्मीदरबार गाउँ सरकारको चौमासिक समीक्षा

रमेश विश्वकर्मा
गुल्मी, जिल्लाको गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकमा गरेका सम्पूर्ण क्रियाकलापको समीक्षा गरेको छ । गाउँ सरकारले एक औपचारिक कार्यक्रमका बिच साउन, भदौं, असोज र कार्तिक महिनामा गरेका सम्पूर्ण क्रियाकलापको समीक्षा तथा जानकारी गराएको हो । सहायता कक्षबाट सेवा प्रवाह गरिएको गाउँपालिका र सबै वडामा विद्युतीय हाजिरी जडान गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । उनले भने, ‘अनलाइन प्रणालीबाट राजस्व तिर्ने व्यवस्थाका साथै राजस्व तिरेपछि तिर्ने ब्याक्तिको मोबाइलमा म्यासेज जाने व्यवस्था गरिएको छ, आन्तारिक आम्दानी बृद्धि गरिएको छ, उपभोक्तालाई सुविधा दिनको लागि सबै उपभोक्ताहरुलाई योजनाको बारेमा सबै विवरण उपलब्ध गराइएको लगायतका काम पहिलो चौमासिकमा प्रभावकारी कार्यान्वयन भएको छ ।’ त्यस्तै गाउँपालिकाले सबै विद्यालयको कक्षा १ मा ‘हाम्रो गुल्मीदरबार’ नामक पाठ्यपुस्तक उपलब्ध गराइएको बताइएको छ । सेवा प्रवाहको सम्बन्धमा मासिक रुपमा कार्यालयका कर्मचारीको बैठक बस्दै आएको जनाइएको छ । गाउँपालिकाका सबै माध्यमिक विद्यालयमा शौचालय, सेनेटरी प्याड र स्वच्छ खानेपानीको व्यवस्थाका लागि कूल ८० लाख रुपैयाँबाट काम चलिरहेको र १ करोड ५० लाखको काम टेण्डर प्रक्रियाबाट अगाडि बढेको पनि समीक्षा कार्यक्रममा बताइएको छ ।

गाउँपालिकामा सञ्चालित कार्यक्रमको प्रभावकारी रुपमा अनुगमन गरिएको, बजार अनुगमन तिव्र रुपमा गरिएको, प्रगति समीक्षा निरन्तर भइरहेको, सडक विस्तारलाई कम प्राथामिकता दिई सडकको स्तरोन्नतीको काम तिव्रं रुपमा भइरहेको र गाउँपालिकाबाट विपतमा परेका ९५ जनालाई राहात उपलब्ध गराइएको पाण्डेले बताए । गाउँपालिकाले जिल्लामा पहिलोपटक १५ शैयाको अस्पताल निर्माणको काम सुरु गरेको छ । कोरोनाको संक्रमणबाट बच्नको लागि प्रत्येक स्थानीय तहमा अस्पताल निर्माण गर्ने नेपाल सरकारको कार्यक्रम अन्तर्गत पहिलोपटक गुल्मीदरबारमा निर्माण सम्पन्न हुन थालेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

गाउँपालिकाले कृषि र पशुपालनमा आफु पछाडी परेको भन्दै हेफर प्रोजेक्ट नेपालसँग सहकार्य गरेर कृषि र पशु सम्बन्धी कार्यक्रमका लागि कर्मचारी भर्ना समेत गरिसकेको छ । गाउँपालिकाले पहिलो चौमासिकमा ४ वटा योजानाको सम्झौता र २ वटा योजनाको भुक्तानी समेत गरिसकेको समीक्षामा जानकारी गराइएको छ । गाउँपालिकाले आफुलाई जनताको पहुँचसम्म पुर्‍याउनका लागि गाउँपालिकासँग लक्षित वर्गलाई छुट्टाएर कार्यक्रम चलाइरहेको छ ।

समीक्षा कार्यक्रममा विभिन्न विषयगत शाखाका प्रमुख र वडाका सचिवहरुले आफुहरुले गरेका प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस गुल्मीदरबार गाउँपालिकाका सभापति प्रेम पुन, नेकपा एमालेका गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद खनाल, नेकपा माओवादी केन्द्र गुल्मीदरबार गाउँपालिकाका उपाध्यक्ष सेर बहादुर सर्तुङ्गे, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव छबिलाल सर्तुङ्ग लगायतले आ–आफ्ना धारणा राखेका थिए । उनीहरुले गाउँपालिकालाई अझै परिस्कृत रुपमा अगाडि बढाउँदै समग्र कार्य सम्पादन गुणस्तरीय र पारदर्शी बनाउन महत्वपूर्ण सुझावहरु दिएका थिए । कार्यक्रममा गाउँपालिका कार्याबाहक अध्यक्ष मीना भण्डारीले कर्मचारीको कामलाई उच्च प्रसंशा गरेकी थिइन् । देशभरका स्थानीय तहमा पालिकाहरुले गरेको संस्थागत क्षमता स्वमुल्यांकनमा अहिलेसम्म गुल्मीको गुल्मीदरबार गाउँपालिका ८१ अंक सहित उत्कृष्ट स्थानीय तह बनेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update