Shittalpati
भोलिदेखि देशभरका विद्यालय बन्द हुने

पाल्पा, कोरोना संक्रमण बढ्दै गएपछि भोलिदेखि देशभरका विद्यालयहरु बन्द हुने भएका छन् । विद्यालय बन्दको निर्णय गरेको सरकारले पुस २७ गतेदेखि नै विद्यालयहरु बन्द गर्ने बताएको छ ।

सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । कक्षा १ देखि १२ सम्म र सीटीईभीटीअन्तर्गतका कक्षा पुस २७ देखि माघ १५ सम्म बन्द गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको हो । भौतिक उपस्थितिमा सञ्चालन हुने कक्षा बन्द गरिएपछि वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।

उसले विदाको अवधिमा सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउन भनेको छ । त्यस्तै मन्त्रालयले विश्वविद्यालय शैक्षिक प्रतिष्ठानहरुको पूर्वनिर्धारित सेमेष्टर, वार्षिक परीक्षाका कार्यक्रमहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्डहरु पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको छ । जेड आकारमा विद्यार्थीको बसाइ व्यवस्था गरी परीक्षा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।

बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update