Shittalpati
तानसेन नगर सरकारको नौलो काम, ब्रेललिपिमा बार्षिक बजेट

कृष्ण पोखरेल
पाल्पा, जिल्लाको तानसेन नगर सरकारले ब्रेललिपिमा वार्षिक बजेट सार्वजनिक गरेर नौलो काम गरेको छ । उसले आर्थिक वर्ष २०७८÷०७९ को बार्षिक बजेट, नगर विकास योजना तथा आर्थिक ऐन २०७८ र विनियोजन ऐन २०७८ ब्रेललिपिमा प्रकाशित गरेको हो । सम्भवतः तानसेन नगर सरकार नेपालमै पहिलो पटक बे्रललिपिमा बजेट पुस्तिका सार्वजनिक गर्ने पालिका बनेको छ । ब्रेललिपि बजेटको नेपाल नेत्रहिन संघ पाल्पाका अध्यक्ष केशव अधिकारीले सार्वजनिक गरे ।

प्रतिनिधी सभा, राष्ट्रिय सभा, प्रदेश सरकार, तथा स्थानीय सरकारले समेत ब्रेललिपिमा बजेट पुस्तिका सार्वजनिक गर्ने प्रचलन नभएको समयमा तानसेन नगरपालिकाले दृष्टिविहिन फरक क्षमता भएका व्यक्तिहरुलाई लक्षित गरी वार्षिक बजेट पुस्तिका सार्वजनिक गरेको हो । ब्रेललिपिमा प्रकाशित वार्षिक बजेट कार्यक्रममा सहभागी दृष्टिविहिनहरुले अब आफ्नै अक्षरमा तानसेन नगरपालिकाको बजेट पढ्न पाउँदा खुसी लागेको बताए । नेपालमा अहिलेसम्म हामीले कही कतै पनि ब्रेललिपिमा बजेट पढ्न पाएका थिए नौं तर तानसेन नगरपालिकाले यो अभियान शुरु गरेर संघीय, प्रदेश तथा अन्य स्थानीय सरकारलाई नैतिक दबाव सिर्जना गराएको नेपाल नेत्रहिन संघ पाल्पाका अध्यक्ष केशव प्रसाद अधिकारीले बताए । तानसेन नगरभित्रका दृष्टिविहिन अति खुसी छांै, तानसेन नगरपालिकाको हामी मिलेर ब्रेललिपि वार्षिक बजेट पुस्तिका प्रकाशन गर्न सफल भएका हौ, जसले गर्दा हामी जस्ता फरक क्षमता भएका व्यक्तिहरुको सूचना प्रणालीमा नयाँ आयाम थपिएको दृष्टिविहिन एवं अपा· सिर्जनशिल समूहका अध्यक्ष सन्दिप भट्टराईले बताए । हामी हाम्रा कार्यक्रमदेखि नगरका सबै योजना, बजेटको अवस्था ब्रेललिपिको माध्यमबाट पुस्तिका पढ्न पाएका छौं, आगामी दिनमा पनि तानसेन ब्रेललिपि बजेट अन्य बजेटसंगै प्रकाशित गर्न दृष्टिविहिन शिक्षक कृष्ण पराजुलीले तानसेन नगरपालिकालाई सुझाव दिए ।

हामीले अघिल्लो वर्षदेखि नै ब्रेललिपिमा बजेट सार्वजनिक गर्ने साेंच बनाएका थियौ तर कोभिड संक्रमण दर उच्च भएकै कारण सफल हुन सकेनौ यस वर्ष दृष्टिविहिनहरुसँग सहकार्यमा फरक क्षमता भएका दृष्टिविहिनहरुलाई मात्र लक्षित गरी बजेट पुस्तिका सार्वजनिक गरिएको नगरप्रमुख अशोककुमार शाहीले बताए । आगामी दिनमा पनि वार्षिक बजेटसँगै ब्रेललिपि बजेट पनि सार्वजनिक गरिने नगर प्रमुख शाहीले बताए । यो कार्यले संघीय, प्रदेश तथा अन्य स्थानीय सरकारहरुमा पनि सकारात्मक सन्देश जाओस् भनि तानसेन नगरपालिकाले नेपालमै पहिलो रुपमा ब्रेललिपी वार्षिक बजेट पुस्तिका सार्वजनिक गरिएको नगर प्रमुख शाहीले बताए । नगर उपाध्यक्ष लक्ष्मीदेवी पाठकले तानसेन नगरपालिकाले यो फरक क्षमतालाई केन्द्रविन्दु बनाएर ब्रेललिपि वार्षिक बजेट अभियान शुरु गरेको बताइन् । पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले ब्रेललिपी वार्षिक बजेट कार्यक्रम राम्रो भएकाले आगामी दिनमा साउन भदौ महिना भित्रै प्रकाशित गर्न सुझाव दिए । सामाजिक विकास अधिकृत भरत शर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update