Shittalpati
बराङ्दीको शिवासन कृषि सहकारीले मनायो आठौं साधारण सभा

बराङ्दी, जिल्लाको बगनासकाली गाउँपालिका –८ बराङ्दीमा रहेको शिवासन कृषि सहकारी संस्था लिमिटेड आठौं साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमका बिच साधारण सभा मनाएको हो ।

सभाको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका बस्यालले आर्थिक समृद्धिको मेरुदण्ड सहकारी रहेको बताए । उनले सहकारीहरुले सहकारीको मर्म र भावनालाई आत्मसाथ गरी अगाडि बढ्न सके आर्थिक समृद्धिले फड्को मार्ने धारणा व्यक्त गरे । उनले आय आर्जनको बाटोमा लगानीले मात्र उद्यमशिलतामा बढवा दिने भन्दै हरेक कामलाई व्यवसायिक बनाउन सहकारी अभियान्ताहरुलाई आग्रह समेत गरे ।

कार्यक्रमका विशिष्ट अतिथि कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले कृषि क्षेत्रमा शिवासन सहकारीले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताइन् । उनले ब्यवसायिक कृषिलाई समेत सहकारीले प्रोत्साहन गरेको प्रति प्रशंसा गरिन् ।

कार्यक्रमा वडा अध्यक्ष गणेश प्रसाद बस्याल, बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद भुसाल, सहकारीका सल्लाहकार रुपा बस्याल, गोमता देवी बस्याल लगायतले सहकारीको सफलताको शुभकामना व्यक्त गरे ।

सभामा संस्थाको बार्षिक आय—व्यय प्रतिबेदन प्रस्तुत गर्दै लेखा समिति संयोजक देवका बस्यालले सहकारीले ३८ लाख ३४ हजार रुपैयाँ बराबरको कारोवार गरेको जानकारी दिइन् । उनका अनुसार सहकारीले चालुआर्थिक वर्षमा सहकारीले १ लाख २१ हजार रुपैयाँ शुद्ध नाफा गरेको छ । संस्थामार्फत ५० जनाले ब्यवसायिक रुपमा मौरी पालन, अदुवा खेती, तरकारी खेती, गाई पालन गरेको संस्थाका सचिव खेम बहादुर कुवरले बताए । कार्यक्रममा संस्थाको निती तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष पशुपति बस्यालले सहकारी मार्फत धेरै कामको थालनी भएको र आगामी दिनमा संस्थाले आय आर्जनको क्षेत्रमा लगानी बढाउदै लैजाने बताए । संस्थाले हाते ट्याक्टर रोलाभेटर लगायतका आधुनिक प्रविधिमार्फत कृषिको थालनी गरिएको समेत उनले जानकारी दिए । कार्यक्रममा निरन्तर ब्यवसायिक रुपमा कृषि गरेका ५ जना कृषकहरुलाई दोसल्ला र मायाको चिनोले सम्मान गरिएको थियो । यस्तै संस्थाका सेयर सदस्यहरुका छोराछोरी मध्येबाट उत्कृष्ट अंक ल्याउने १० जना विद्यार्थीहरुका आमाहरुलाई समेत सम्मान गरिएको संस्थाले जनाएको छ । संस्थामा ४ सय पाँच जना सेयर सदस्य रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update