
बुटवल, लुम्बिनी प्रदेशको रुपन्देही र रोल्पामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रुपन्देहीमा ट्रकले ठक्कर दिँदा एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ भने, रोल्पामा ट्याक्टर दुर्घटनामा अर्को एक जनाको मृत्यु भएको हो ।
बुधबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवा चोकमा ना ४ ख ८९४० नम्बरको ट्रकले लु ७० प २४४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१७ बस्ने २२ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार नवलपरासी बर्दघाट नगरपालिका–११ बस्ने २५ वर्षीय मन बहादुर चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै रोल्पाको सुनिल स्मृति गाउँपालिका–३ डोम्फेस्थित सडकमा ना ७ त ६४२६ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरका सहचालक सुनछहरी गाउँपालिका–५ जुवाङ बस्ने १९ वर्षीय पूर्ण सिंह बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारको लागि सुलिचौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।