Shittalpati
चोरिएका मोटरसाईकल सम्बन्धित धनीलाई दिइयो

पाल्पा, महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थान र मितिमा हराएका २६ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामाले एक औपचारिक कार्यक्रमका बिच चोरिएका १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीहरुलाई जिम्मा लगाएको हो ।

उपत्यकाका पशुपति, बौद्ध, नरेफाँट, ठिमी, सूर्यविनायक, बसुन्धारा, बानेश्वर, चावहिल, ठमेल, कीर्तिपुर, सातदोबाटो, कलङ्की, नयाँबसपार्क लगायतका स्थानबाट हराएका मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीको जिम्मा लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले विशेष सूचना संकलन तथा सुराकी मार्फत ती मोटरसाईकल वरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले एनजेडीलाई जानकारी दिए ।

उनले एकान्त स्थानमा सवारी पार्किङ गर्दा हराउने गरेको जनाउँदै पार्किङ गर्दा ख्याल गर्न सवारी धनीलाई आग्रह समेत गरेका छन् । विशेष सूचना तथा सुराकीका आधारमा महाशाखाले मोटरसाइकल खोज्दै आएको उनको भनाइ छ ।

सुरक्षित स्थानमा र सुरक्षित तरिकाले मात्र सवारीसाधन राख्न र अतिरिक्त लक र अलर्ट सिस्टमको प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अनुरोध गरेको छ । महाशाखाले चालू आर्थिक वर्षमा मोटरसाइकल चोरी कार्यमा सङ्लग्न ३२ जनालाई पक्राउ गरी कारवाही गरिसकेको छ । महाशाखाले सवारी हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ वा नजिकको ट्राफिक प्रहरीलाई सम्पर्क गर्न र निवेदन दिन अनुरोध गरेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update