
कृष्ण पोखरेल
पाल्पा, बगनासकाली गाउँपालिकाले डेढ बर्षको अवधिमा भएका काम गतविधिलाई केन्द्रित गरेर सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७७, ०७८ मा ७६ किलो ८ सय मिटर सडक स्तरउन्नती, ८ किलो ६ सय मिटर नयाँ खडक निर्माण गरेको छ भने १३ वटा खानेपानी योजना सम्पन्न गरेको छ । वडा नंं ४ मा वडा भवन, २२ वटा सामुदायिक भवन, ५ वटा विद्यालय भवन, वडा नंं १, २ र ४ मा स्वास्थ्य चौकी भवन, ३ सय २९ मिटर आरसीसी ढलान, ३ सय २० मिटर कुलो निर्माण, ५ वटा खेलमैदान, राम्दीमा घाट व्यबस्थापन, २ वटा विद्यालय शौचालय निर्माण गरिएको जनाइएको छ । गाउँपालिकाले गत बर्षमा चालु तर्फ ८६.४५ पुँजीगततर्फ ७४.८ प्रतिशत रकम खर्च गरी कुल ८२.७४ प्रतिशत वित्तिय प्रगती गरेको छ । गाउँपालिकाले गत आ.व.मा ५१ लाख ७० हजार रुपैयाँ आन्तरीक आम्दानी गरेको जनाएको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले गत आ.व.र चालु आ.व.का मुख्य मुख्य गतिविधीहरु सार्वजनिक सुनुवाईमा प्रस्तुत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत घर्तिले चालु आर्थिक बर्षको ६ महिनाको अवधीमा २०९ वटा योजना सम्झौता भएको, २० वटा योजना सम्पन्न भईसकेको, समपुरक योजनाका ५ वटा कार्यक्रम शुरु भएको, गाउँपालिकाको चिलाङ्दीमा निर्माण हुने प्रशासकीय भवन ई टेण्डर मूल्याङ्कन तथा नक्साङ्कनको काम भईरहेको जानकारी दिए । ४ महिनाको अवधीमा बर्षायामको १०९ किलोमिटर सडक सफा गरी यातायाता सञ्चालन गरेको, ५ वटा सडक स्तर उन्नती, १ वटा खेलमैदान, १ पौवा निर्माण, ७ वटा लक्षित वर्गका कार्यक्रमहरु सम्पन्न भईसकेको जनाइएको छ । चालु आर्थिक बर्षमा सामान्यिकरण अनुदान तर्फ २ करोड ६३ लाख, सशर्त अनुदान तर्फ ५ करोड २४ लाख २५ हजार बजेट प्राप्त भएको, चालु तर्फ २०.३९, पुँजीगत तर्फ ०.२८ खर्च भएको, ७ लाख ९७ हजार आन्तरीक आम्दानी भएको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए ।
कार्यालयले चालु आ.व. को प्रत्येक महिनामा भएका मुख्य मुख्य कामहरु समेत सार्वजनिक गरेको छ । श्रावण महिनामा प्रत्येक हप्तामा सञ्चालन हँुदै आएको आर्युवेद स्वास्थ्य क्लिनिकलाई हप्तामा दुई पटक आईतबार र बुधवार बनाएको, सेवा प्रवाहलाई चुस्त दुस्त बनाउन अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुख बीच कार्यसम्पादन करार सम्झौता, वडा सचिवहरुलाई तालिम, भदौ महिनामा, पञ्जिकरण विभागलाई व्यस्थित तथा सर्वसाधारणलाई अनलाईन सुविधाका लागि कर्मचारीहरुलाई तालिम प्रदान, सबै कारोबारलाई व्यस्थित गर्न बैकिङ्ग सफ्टवेयर सञ्चालन, मासिक कार्यप्रगति बीच छलफल, कार्यालयको लेटरप्याडलाई व्यस्थित गरिएको जनाएको छ । असोज महिनामा राम्दी, आर्यभञ्ज्याङ, चापपानीमा बजार अनुगमन, हरेक शुक्रबार कार्यालय परिसर सरसफाई अभियान, गत आ.व. कार्यप्रगती समिक्षा, कार्यालय हाता भित्रका रुखहरु कटान छटान तथा रंगरोगन सरसफाई, कार्तिक महिनामा वडा वडामा योजना सम्झौताको शुरुवात, जनप्रतिनिधी तथा कार्यलयका कर्मचारीहरुको कार्यकक्ष व्यबस्थापन, खर्चलाई व्यस्थित र मितव्ययी बनाउन कार्यविधी २०७८ पारित भई कार्यान्वन, कार्यालयको वेभसाईटमा कर्मचारीको विवरण अपडेट, जनताको काम लाई चुस्त दुस्त बनाउन ईन्जिनियर, कृषि, पशुका प्राविधिक कर्मचारी लाई व्यस्थित रुपमा खटन पटन गराएको, मंसिर महिनामा वडा नंं ५ को भवन निर्माणको लागि जग्गा प्राप्ती गरेको, शखा प्रमुखहरु विशेष जिम्मेवारी सहित कार्य शुभारम्भ गरिएको, वडा नंं १ मा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरिएको, वडा नंं ६ राम्दीमा प्राकृतिक श्रोतको आन्तरीक आम्दानी तर्फ काम शुरु भएको, कार्यालय परिसरलाई नियमित सरसफाई गरी व्यस्थित बनाएको, खरिद ईकाई गठन गरी, सचेतनामुलक कार्यक्रम संचालन, प्रथम चौमासिकको प्रगती समिक्षा गरिएको र पुश महिनामा गाउँपालिकाको प्रतिक चिन्ह लोगो प्रयोगमा ल्याएको, पशु कृषि सेवालाई व्यस्थित बनाउन ६ जना नयाँ कर्मचारी राखिएको जनाएको छ ।
गाउँपालिकाको आन्तरीक आम्दानी कम हुदा जनताको सबै माग हरु पुरा गर्न नसकिएको, विकास निर्माणको विषयमा जनता लाई बुझाउन नसमिएको, निती, थिती र विधीको पूर्ण रुपमा पालना नभएको, बेरुजु अंक बढ्दै गएको सबै पक्ष जिम्मेवार भएर काम गर्नुपर्ने जनाएको छ । सर्वसाधारण, उपभोक्ता, विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले उठाएका गुनासा, सुझावहरुको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदी, प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ति, सम्वधित शाखा प्रमुखहरुले जवाफ दिएका थिए । गाउँपालिकाको आयोजना पाल्पा विकास केन्द्रको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रम संयोजक किरण कौशलको सञ्चालनमा भएको थियो ।