
कृष्ण पोखरेल
पाल्पा, पाल्पाको रम्भा गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकालाई सोमबार एक औपचारिक कार्यक्रमका बीच बालमैत्री गाउँपालिकाको रुपमा घोषणा गरिएको हो ।
गाउँपालिकाले बालमैत्री स्थानीय शासनको सबै सूचकहरु पुरा गरी जिल्ला समन्वय समिति पाल्पा र लुम्बिनी प्रदेश सरकारको अनुगनम तथा अनुमतीमा बालमैत्री गाउँपालिका घोषणा गरेको हो । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति बमोजिम नेपाल सरकारले तय गरेका ३९ वटा सूचकमा तोकिए अनुसारको नतिजा प्राप्त गर्नुपर्ने व्यवस्था छ । जस मध्ये बालमैत्री स्थानीय तह घोषणका लागि १७ वटा सूचकमा शतप्रतिशत र बाँकी २२ वटा सूचकमा ८० प्रतिशत नतिजा ल्याएमा बालमैत्री घोषण गर्न सकिने प्रावधान छ । जसमध्ये रम्भा गाउँपालिकाले ५१ वटा सूचकहरु पुरा गरी स्थानीय बालमैत्री शासन लागु गरेको छ । पाल्पा क्षेत्र नंं १ का संघीय सांसद तथा पूर्व भूमिसुधार मन्त्री दल बहादुर राना र विशिष्ट अतिथी लुम्विनी प्रदेशकी कानुन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीमगरले संयूक्त रुपमा बालमैत्री गाउँपालिका घोषणा गरेका हुन् । बालमैत्री शासन गाउँपालिका घोषणा गदैै संघीय सासंद रानाले गाउँपालिका अब युवा जवानको मात्र नभई बालबालिकाले पनि शासन गर्ने अधिकार सुनिश्चत भएको बताए । रम्भा गाउँपालिका भित्रका कुनै पनि बालबालिका, कुनै पनि अधिकारबाट वञ्चित हुन नपर्ने, हरेक किसिमका गाउँ देखी वडा टोल टोलका कार्यक्रममा अनिवार्य बाल सहभागिता रहने सुनिश्चितता भएको सांसद रानाले बताए । कार्यक्रममा लुम्विनी प्रदेश कानुन महिला बालबालिका तथा जेष्ठ नागरीक रमा घर्ती मगरले पाल्पामा रम्भाले बालमैत्री गाउँपालिका घोषणा गरेर लुम्विनी प्रदेशमै नमुना गाउँपालिको रुपमा पहिचान बनाएको बताईन् । उनले अबका दिनमा महिला तथा जेष्ठ नागरिकमैत्री गाउँपालिका घोषणाको अभियानमा लाग्न पालिकालाई सुझाव दिईन ।
कार्यक्रममा प्रदेश सांसद नारायण प्रसाद आचार्यले बालमैत्री शासन लागु भएको गाउँपालिका घोषणाले पालिका भित्र बालअधिकार पूर्ण रुपमा कार्यान्वयनमा आएको बताए । कार्यक्रममा जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख मिरा मरासिनी, प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त विभिन्न, राजनितिक दलका नेता, गाउँपालिका बाल सञ्जालका पदाधिकारी लगायतले रम्भा गाउँपालिकाले थालेको बालमैत्री अभियानले बालबालिकाको अधिकार सुनिश्चित भएको बताए । गाउँपालिकाले ४ वटा मुख्य सूचक भित्रका ५१ वटा सूचकहरु चरणबद्ध रुपमा पार गरेर पालिका भित्र बालमैत्री शासन लागु गरेको हो । बाल बचाउ, बाल विकास, बाल संरक्षण र बाल सहभागिता मुख्य सूचक रहेका छन् । गाउँपालिका भित्र विद्यालय, वडातहमा गरी १ सय वटा बालक्लवहरु सुचिकृत रहेको सबै क्वलहरुलाई सक्रिय बनाईएको गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए । ५ वटा वडामा बाल समन्वय समिति, एक वटा पालिका स्तरीय बाल समन्वय समिति गठन गरी बालबालिकाहरु सक्रिय बनाउदै आएको छ । गाउँपालिकाले सबै बालवालिकाहरुलाई विद्यालयमा अनिवार्य सहभागिता, बालविवाहको अन्त्य, सबै विद्यालयमा गुणस्तरीय स्वच्छ खानेपानीको व्यवस्था, सावुन पानीले हातधुने व्यवस्था, आधारभुत कक्षा १ देखी ८ सम्मका बालवालिकाहरुलाई विद्यालयमै दिवा खााजाको व्यबस्था गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । पालिकाले बालवालिकाको क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्दै आएको छ । सवारी साधन देखी होटल रेष्टुरा तथा अन्य क्षेत्रमा १८ बर्ष भन्दा मुनीका बालमजदुर राख्ने अवस्था शुन्यमा झरेको, घरमा सुत्केरी हुनेकोे संख्या विगत दुई बर्ष देखी शुन्य रहेको, दुई बर्षको अवधीमा एक बर्ष मुनीका बच्चा र सुत्केरी आमाको मृत्यु नभएको, सबै क्षेत्र, तथा कार्यक्रममा अनिवार्य बालसहभागिता लागु गरिएको, सुत्केरी आमालाई पोषण भत्ता प्रदान गरिदै आएको अध्यक्ष भण्डारीले बताए । बाल बचाउका सम्बन्धी १४ वटा सूचक, बाल संरक्षण सम्वन्धी १० वटा सूचक, बालविकास सम्बन्धी ६ वटा सूचक, बाल सहभागिता सम्बन्धी ६ वटा सूचक र संस्थागत विकास सम्बन्धी १५ सूचक गरी ५१ वटा सूचकहरुमा गाउँपालिकाले शत प्रतिशत नतिजा ल्याई प्रदेश सरकारको अुगमन र अनुमतीमा बालमैत्री गाउँपालिका घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालले बताए । बालमैत्री मैत्री स्थानीय शासनका फोकल पर्सन कुश्माखर पाण्डेले २०७५ साल पुस देखी गाउँपालिकालाई कालमैत्री घोषणा अभियान शुरु गरी २०७८ पुस १९ गते रम्भा गाउँपालिकालाई बालमैत्री घोषणा गर्दा सम्म भएका गतिविधी तथा सुचकका आधारहरु प्रतिवेदनको रुपमा पेस गरेका थिए । गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीको अध्यक्षतामा भएको बालमैत्री घोषणा कार्यक्रममा पालिकाका प्रवक्ता कृष्ण प्रसाद रेग्मीको स्वागत, पालिकाका अधिकृत भक्तजंग रानाको सञ्चालनमा भएको थियो । कार्यक्रममा पञ्चेबाजा सहित पालिका भित्रका विद्यालय, बालक्लवहरुले बालअधिकारका नारा लगाउदै र्याली निकालेका थिए । कार्यक्रममा पालिकाका महिला कर्मचारी, विद्यालयका महिला शिक्षिका, तथा बालवालिकाले बालअधिकारका विषय गित नृत्य प्रस्तुत गरेका थिए । रम्भा गाउँपालिकाले २ बर्ष अघि नै पूर्ण संस्थागत भएको गाउँपालिका घोषणा गरिसकेको छ भने पूर्ण सरसफाई उन्मुख वडा घोषणा भएको छ । यही केही महिना भित्र पुर्ण खरको छानामुक्त गाउँपालिका, पुर्ण सरसफाई उन्मुख गाउँपालिका घोषणा गर्ने तयारी भईरहेको पालिकाले जनाएको छ ।