Shittalpati
‘स्थानीय तहमा उम्मेदवार बन्नेहरू सदस्यता छोड्नुहोस्’

पाल्पा, नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नेहरुले पत्रकारको सदस्यता छोड्नुपर्ने बताएका छन् । सोमबार नेपाल पत्रकार महासंघ पाल्पाको स्थापना दिवसको अवसरमा प्रवाह बुलेटिन र वेभसाइट सार्वजनिक गर्दै महासचिव पुरीले यस्तो बताएका हुन् । उनले पत्रकारिता विशुद्ध पेशा भएकाले कुनै पनि दलमा नरहन र स्थानीय निर्वाचनमा उम्मेदवार बन्न परे सदस्य छोड्न पत्रकारहरुलाई आग्रह गरे । महासचिव पुरीले दलहरुले पत्रकारहरुलाई राजनीतिकरण गरेको आरोप समेत लगाए । पत्रकार महासंघको विधानले पत्रकारलाई दलमा रहन नपाउने व्यवस्था गरेकाले पत्रकार कुनै पनि दलमा आवद्ध नहुन उनले आग्रह गरे । कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष मेघराज शर्माले महासंघ पाल्पा शाखाले पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए । पाल्पाको पत्रकारिताले निष्ठा, इमान्दारितापूर्वक आफ्नो पहिचान बनाएको उनले धारणा व्यक्त गरे । प्रदेश सभा सदस्य नारायण आचार्यले समानुपातिक विज्ञापन वितरण प्रणालीलाई व्यवस्थित गरी स्थानीय मिडिलालाई बलियो बनाउनुपर्नेमा जोड दिए । तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले पत्रकारिता नहुँदा सूचना विहीनता जस्तो समाज हुने भएकाले जिल्लाको पत्रकारिताको संरक्षण र विस्तार गर्नमा स्थानीय सरकारले पनि ध्यान दिएको बताए ।

रामपुर नगरपालिकाकी उपप्रमुख विष्णुदेवी आचार्यले समाजमा देखिएका सबै प्रकारका कमीकमजोरीहरु सञ्चार माध्यमले उठाउनुपर्नेमा जोड दिइन् । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले स्थानीय तहका कामहरुको पत्रकारहरुले अनुगमन गर्न आवश्यक रहेको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थ, नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष खिमानन्द पाण्डेय, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य मथुरा ढकाल, जनता समाजवादीका जिल्ला अध्यक्ष नवीन सुनुवार, राप्रपाका जिल्ला अध्यक्ष डुलबहादुर कुँवर, जनमोर्चाका पूर्व अध्यक्ष विशाल दर्लामी, महासंघका पूर्व अध्यक्षहरु राजेशकुमार अर्याल, झपेन्द्र गहिरे, गोविन्द भट्टराई, महासंघका सल्लाहकार कमल तिमिल्सेना, संस्थापक देवीप्रसाद बस्याल, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन लगायतले आ आफ्ना धारणा राखेका थिए । महासंघका अध्यक्ष रेखीराम रानाको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत, सचिव यज्ञमुर्ति तिमिल्सेनाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update