
गुल्मी, आर्थिक अभावले स्वास्थ्य उपचारमा समस्या परेका मुसिकोट नगरपालिका १ बाङ्गेका शंकर दर्जीलाई आर्थिक सहयोग जुटेको छ । विभिन्न अभियान मार्फत उनलाई सहयोग जुटेको हो । जुटेको सहयोग रकम एक कार्यक्रमका बीच समाजसेवी तारादेवी गौतम र बयोवृद्ध रमा केसीले संयुक्त रुपमा दर्जी परिवारलाई हस्तान्तरण गरेका छन् । उनीहरुले संकलित १ लाख ९३ हजार ५सय ५४ रुपैयाँको चेक दर्जी परिवारलाई हस्तान्तरण गरेका हुन् ।
दर्जीको स्वास्थ्य उपचारार्थको लागि आर्थिक सहयोग संकलन अभियान मार्फत स्वदेश तथा विदेशबाट ३ लाख ९५ हजार ४ सय ६६ संकलन भएको थियो । संलित रकम १ लाख ९९ हजार ९ सय १२ रुपैयाँ उपचारमा खर्च भएको र बाँकी रकम परिवारलाई बुझाइएको शंकर परियार उपचार व्यवस्थापन समिति पौदी अमराई बाङ्गेका सचिव श्यामन्त नेपालीले जानकारी दिए । दर्जीको स्वास्थ्य उपचारको लागि सहयोग गर्ने सम्पूर्ण सहयोगीदाताहरुलाई सहयोग संकलन अभियानका अभियान्ता अशोक गौतम र दर्जी परिवारले विशेष धन्यवाद दिएको छ ।
सोही अवसरमा नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष कौरव खत्रीले विरामी दर्जीको स्वास्थ्य उपचारमा सहयोग संकलन अभियान मार्फत सहयोग जुटाउन पहल र आर्थिक सहयोग गर्नुहुने सबै सहयोगीदाताहरु हार्दिक आभार प्रकट गरे । आर्थिक अवस्था कमजोर रहेका दर्जीको स्वास्थ्य उपचारलाई मुसिकोट नगरपालिका १ बाङ्गे निवासी हाल रोजगारीको शिलशिलामा जापानमा रहेका समाजसेवी लोकनाथ घिमिरे,सोही स्थानका हाल पपुवा न्युगिनी रहेका युवा समाजसेवी अशोक गौतम,पौदी सेभ सोसाइटी जापानका अध्यक्ष कृष्ण खत्री क्षेत्री,शंकर परियार उपचार व्यवस्थापन समिति कोषाध्यक्ष ओम गुरुङ्ग, सिबि खाती क्षेत्री, राजन गिरी, सूर्य नेपाली, र पौदी सेभ सोसाइटी जापान संस्था लगायतको पहल तथा सक्रियतामा जापान, पपुवा न्युगिनी, भारत, अमेरिका, साउदी अरव, दुवई, कतार लगायतका देश तथा नेपालका स्थानमा रहेका ७९ जना व्यक्तिहरुबाट रकम सहयोग भएको थियो । दर्जी जन्र्मेको करिव १०/१२ बर्षको उमेरदेखि नै स्वास्थ्य समस्या भोक्दै आइरहेका छन् । शंकर परियार उपचार व्यवस्थापन समिति पौदी अमराई बाङ्गेका उपाध्यक्ष प्रेमबहादुर दर्जीको अध्यक्षता, समाजसेवी ढालबहादुर गुरुङ्गको स्वागत, समितिका सचिव श्यामन्त नेपालीको सञ्चालनमा कार्यक्रम भएको थियो । –कौरव खत्री