Shittalpati
साना किसान कृषि सहकारीको साधारण सभा

गुल्मी, जिल्लाको इस्मा गाउँपालिका ४ दोहोलीमा रहेको भविष्य निर्माण साना किसान कृषि सहकारी सस्था लिमिटेडले साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमका बीच तेस्रो साधारण सभा मनाएको हो । ग्रामीण भेगमा रहेका महिलाहरुको नेतृत्व विकास र बाख्रापालनको क्षेत्रमा काम गर्दै आइरहेको सहकारी संस्थाले सभामा आफुले वर्ष भरी गरेका गतिविधिसँगै आगामी कार्यक्रम तथा योजनाका विषयमा जानकारी गराएको छ । साधारण सभाको गुल्मी क्षेत्र नम्बर २ का सांसद पूर्वमन्त्री गोकर्ण बिष्टले उद्घाटन गरेका हुन् ।

सभाको उद्घाटन गर्दै नेता विष्टले देशको आर्थिक मेरुदण्ड नै सहकारी रहेको बताए । उनले ग्रामीण वस्तीहरुमा यस्ता सहकारीले आयआर्जनका कामहरुसँगै नेतृत्व विकासमा समेत ठूलो टेवा पुर्‍याएको बताए । नेता विष्टले सहकारीमार्फत रोजगारी र जीविकोपार्जनमा काम गर्दै आएकाले सहकारीको सफलताको शुभकामना समेत दिए ।

कार्यक्रममा इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण विष्ट, उपाध्यक्ष विमला केसी, वडा अध्यक्ष गनुप्रसाद अधिकारी लगायतले साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए । सहकारी संस्थाले आधुनिक कृषि प्रविधिको वितरण र प्रयोग गर्दै कृषि उत्पादन वृद्धि गर्दै आएको छ । संस्थामा हाल विभिन्न सहयोग र अनुदानका कार्यक्रम सञ्चालन भएका छन् । २ करोड २० लाख कुल पूँजी रहेको सहकारीमा ७ सय ६४ जना सेयर सदस्यहरु रहेका छन् । साधारण सभामा संस्थाको प्रतिवेदन अध्यक्ष कमला विष्ट र कोषाध्यक्षको प्रतिवेदन लेखा प्रमुख विष्णु बस्नेतले प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update