Shittalpati
आज राष्ट्रिय मेलमिलाप दिवस मनाइदैं

पाल्पा, आज ४६ औं राष्ट्रिय मेलमिलाप दिवस मनाइदैछ । वीपी कोइराला सहित नेपाली काँग्रेसका नेताहरु मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा यो दिवस मनाइने गरिन्छ । सोही दिनको सम्झनामा हरेक वर्ष पुस १६ गतेलाई नेपाली काँग्रेस र उसका भ्रातृ संस्थाहरुले ‘मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएका छन् ।

२०३३ साल पौष १६ गते आठ वर्ष लामो भारतको निर्वासन त्यागेर मेलमिलापको नीतिसहित काँग्रेस नेताहरु विपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, लगायत नेता राष्ट्रिय एकता र मेलमिलापको नारा लिएर नेपाल फर्किएका थिए । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती व्यवस्था शुरु गरेपछि कोइराला सहितका नेता ७ वर्ष जेल जीवन बिताएपछि २०२५ सालमा वीपी सहितका काँग्रेस नेता भारत निर्वासनमा गएका थिए । नेपालमा राजासँगै हातेमालो गर्न सकिने निष्कर्ष निकाल्दै भारतबाट स्वदेश फर्किएका उनीहरु विमानस्थलबाटै पक्राउ परेका थिए । वीपीको राष्ट्रिय मेलमिलाप र एकताको सन्देश आज दलहरुबीच देखिएको आपसी अविश्वास र असमझदारी हटाई निर्धारित समयमै लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि पनि उत्तिकै सान्दर्भिक रहेको विश्लेषकहरु बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update