
कृष्ण पोखरेल
पाल्पा, वडा–वडामा सञ्चालन हुने योजनाहरुको सम्झौता, बैक खाता सञ्चालनको लागि उपभोक्ताहरु गाउँपालिकाको कार्यालय तथा सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । आर्थिक वर्ष समाप्त हुने महिना असारसम्म उपभोक्ताबाट योजना सम्झौता गर्ने, बीसदेखि पच्चिस दिनसम्म काम सकेर कागजी फरफारक गर्ने देशव्यापी परम्परालाई पाल्पाको बगनासकाली गाउँपालिकाले यस बर्ष तोडेको छ । चालु आर्थिक वर्षमा सञ्चालन हुने योजनाहरु बगनासकाली गाउँपालिकाले वडा–वडा, टोल–टोलमा पुगेर सम्झौता गरेपछि उपभोक्ताहरु सक्रिय भई योजनाको काम गर्न थालेका छन् । गाउँपालिकाका अध्यक्ष सहित प्रमुख प्रशासकीय अधिकृत, इन्जिनीयर, प्राविधिक, वडा अध्यक्ष, सचिवहरु वडा–वडाका टोल–टोलमा पुगेर योजना सम्झौताको काम खटिएका हुन् । योजना सम्झौताको लागि बैंक खाता अनिवार्य भएपछि गाउँपालिकाको टोली सहित नेपाल बैंकका कर्मचारीहरु समेत उपभोक्ता समितिको खााता खोल्न टोल–टोलमा पुगेका हुन् ।
विगतका वर्षहरुमा उपभोक्ता समिति गाउँपालिकाको कार्यालयमै पुगेर योजना सम्झौता गर्ने, सदरमुकाम पुगेर बैंक खाता खोल्ने प्रचलनलाई चालु आर्थिक वर्षमा गाउँपालिकाले तोडिदिएको छ । वडा–वडा योजनाहरु सम्झौता भएपछि उपभोक्ताहरु योजनाको काममा जुटेका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा वडा–वडामा पुगेर पालिकाले १ सय ९३ वटा योजना सम्झौता गरी काम शुरु भएको छ । बाँकी रहेका योजनाहरु पुनःपुस महिनाभित्र वडा–वडा मै पुगेर पुनः सम्झौता गरिने गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । वडाबाटै योजना सम्झौता भएपछि १५ वटा योजनाको काम सम्पन्न भई फरफारख भइसकेको अध्यक्ष बस्यालले बताए । गाउँपालिकाले वडा १ चिर्तुङ्गधारामा २५ वटा, वडा २ पोखराथोकमा १६ वटा, वडा ३ नायरनम्तलेसमा २९ वटा, वडा ४ खानीछापमा २३ वटा, वडा ५ दर्लामडाँडामा १८ वटा, वडा ६ यम्घामा १९ वटा, वडा ७ खानीगाउँमा १७ वटा, वडा ८ बराङ्गदीमा २३ वटा र वडा ९ चापपानीमा २३ वटा योजनाहरु वडा–वडा, टोल–टोलमै पुगेर सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले बताए । सम्झौता भएका योजनाहरुको काम शुरु भएका छन्, फागुनभित्र सबै योजनाहरु सम्पन्न भई फरफारख हुने घर्तीले बताए । अहिले वडा ४ खानीछापमा २३ वटा योजना सम्झौता गरेकोमा ३ वटा सम्पन्न भई फरफारख भएको, वडा २ पोखराथोकमा १६ वटा योजना सम्झौता भएकोमा ३ वटा सम्पन्न भएको, वडा ८ बराङ्गदीमा २३ वटा योजना सम्झौता भएकोमा २ वटा सम्पन्न भएको, वडा ९ चापपानीमा २३ वटा योजनामा २ वटा सम्पन्न भएको, वडा १ चिर्तुङ्गधारामा २५ वटा योजनामध्ये १ वटा सम्पन्न भएको गाउँपालिकाका योजना अधिकृत भरतप्रसाद घिमिरेले बताए । वडा–वडामा योजना सम्झौता भएपछि उपभोक्ताहरु उत्साहित भएका छन् ।
स्थानीय सरकारको इच्छाशक्ति भएमा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरु जनताप्रति उत्तरदायी भएमा जनताका काम सजिलो तरिकाबाट गर्न सकिने रहेछ भन्ने उदाहरण गाउँपालिकामा टोल–टोलमा गरिएको सम्झौताबाट महशुस भएको उपभोक्ता दयाराज न्यौपानेले बताए । गाउँपालिकामा जान गाउँबाट दुई वटा सवारी साधन परिवर्तन गरेर जानुपर्ने बाध्यता छ । एउटा योजना सम्झौता गर्दा विगतमा दुई दिन लाग्दथ्यो, केही कागजात कमी हुँदा कर्मचारीहरुले भोलि आउनुभन्थे, दुःखकै कारण गाउँमा उपभोक्ता समितिमा बसेर काम गर्न मान्दैनथे, अहिले घरदैलोमा योजना सम्झौताले काममा सजिलो भएको, खर्च बचेको बगनासकाली गाउँपालिका वडा ८ की उपभोक्ता कुभिजा घिमिरेले बताइन् । गाउँको काम नगरी भएन, समितिमा नबसे योजना फ्रिज जाने, बसे दुःख पाउने अवस्था थियो, तर टोल–टोल, भएको योजना सम्झौताले काम गर्न सजिलो भएको छ । सम्झौता पछि योजनाको काम शुरु भएको बराङ्गदी सिद्धबावा मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष श्रीधर बस्यालले बताए । गाउँपालिका भित्र स–साना ठूला गरी चालु आर्थिक वर्षमा ३ सय ९० भन्दा बढी योजनाहरु गाउँपरिषद्बाट पारित भएको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षका सबै योजनाहरु चैत्र मसान्तभित्र फरफारख गरिसक्ने गरी उपभोक्ता समिति र पालिकाका प्राविधिकहरु परिचालन गरिएको गाउँपालिकाले जनाएको छ ।