
काठमाडौं, पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भू–भागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ । यो क्रम आज रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् गंगा नगरकोटीले बताइन् । “सो प्रणाली बिहीबारदेखि क्रमिकरुपमा कमजोर बन्दै जाने देखिएको छ”, उनले भनिन् ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भइरहेको छ । राति देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको बताइएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । –रासस