Shittalpati
‘एक वडा एक किलोमिटर सडक कालोपत्र’

रामपुर (पाल्पा), तानसेन नगरपालिकाले ‘एक वडा एक किलोमिटर सडक कालोपत्र’ गर्ने योजना अघि सारेको छ । गाउँ–गाउँमा पनि सहज रूपमा यातायात सुविधा पुर्‍याउने उद्देश्यले नगरपालिकाले १४ वडाका ग्रामीण सडकमा कालोपत्र गर्ने काम सुरु गरेको हो ।आठौँ नगर परिषद्ले निर्णय गरी चालु आर्थिक वर्ष २०७८/७९ बाट सञ्चालन गर्ने गरी बहुवर्षीय कार्यक्रम अन्तर्गत काम अगाडि बढाइएको हो ।

यसका लागि करिब १५ करोड बजेट समेत विनियोजन गरिएको छ । पहिलो चरणमा ७ सयदेखि ९ सय मिटरसम्म सडक कालोपत्र हुनेछ भने क्रमशः सबै वडाका सबै सडक आगामी तीन/चार वर्षभित्र कलोपत्र हुँदै जाने नगर प्रमुख अशोककुमार शाहीले जानकारी दिए । वडा २ मा उपभोक्ता समितिबाट काम अगाडि बढाइएको छ भने अन्य वडामा निर्माण व्यवसायीबाट काम अगाडि बढेको छ । निर्माणमा गुणस्तरीयता कायम गर्न प्रयोगशाला परीक्षण गरिएका निर्माण सामग्री प्रयोग हुने नगरपालिकाका इञ्जिनियर रामप्रसाद श्रेष्ठले बताए । नगरपालिकाले यहाँका ग्रामीण क्षेत्रका सबै वडामा कच्ची सडक निर्माणसँगै बाहैै्र महिना सहजरूपमा यातायात सञ्चालनका लागि सडकमा कालोपत्र गर्ने काम गरेको हो । एक वडा एक किलोमिटर सडक कालोपत्र योजना अन्तर्गत काम थालनी भइसकेको र आगामी माघभित्र सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको तानसेन–६ का वडाध्यक्ष सागरमान महर्जन जानकारी दिए । गाउँमा सडक विस्तार तथा निर्माणलाई विकासको पहिलो खुट्किलो मानिन्छ । सडकको विकास हुँदै गर्दा अन्य सेवा सुविधा भित्रिने आशामा स्थानीयवासी खुशी छन् । –रासस

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update