
पाल्पा, शीत काव्य समाज नेपाल पाल्पाले शीत काव्य लेखन प्रशिक्षण कार्यक्रम गरेको छ । शीत काव्य समाज नेपाल पाल्पाको आयोजनमा पद्म पब्लिक नमूना माध्यमिक विद्यालयमा शीत काव्य लेखन प्रशिक्षण तथा मास्क वितरण कार्यक्रम गरेको हो ।
प्रशिक्षण कार्यक्रममा शीत काव्य समाज नेपालकी केन्द्रीय कोषाध्यक्ष एवं पाल्पा जिल्ला अध्यक्ष इन्दिरा ज्ञवालीले सम्वादमा शीत लेख्ने तरिका सिकाउनुएकी थिइन् । विद्यालयका सहायक प्रधानाध्यापक सन्तवीर बरालले सुन्दर शीत वाचन कला विधार्थीलाई सिकाएका थिए । प्रशिक्षणमा कोषाध्यक्ष जानकी अधिकारी, सहसचिव सविता भट्टराई र सदस्यहरू पशुपति प्रधान र जमुना घिमिरेले विधार्थीहरूलाई शीत लेखनमा सहजीकरण गरेका थिए ।
अध्यक्ष इन्दिरा ज्ञवालीको अध्यक्षता भएको कार्यक्रममा शीत काव्यका परिकल्पनाकार एवं शीत काव्य समाज नेपालका केन्द्रीय अध्यक्ष पुष्कर अथक रेग्मीले प्रशिक्षण दिएका थिए । “कविताको लघुतम उपविधाको रूपका शीतको परिकल्पना पाल्पाबाट गरिएको र यो निकै लोकप्रिय रहेकोले अब विद्यालयदेखि नै विद्यार्थीहरूलाई कविता लेख्न सक्ने आदतको विकास गर्न शीत प्रशिक्षणको अभियान शुभारम्भ गरिनुका साथै यसलाई विभिन्न विद्यालयमा निरन्तरता दिने परिकल्पनाकार पुष्कर अथक रेग्मीले बताए । प्रशिक्षणमा ३३ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । विद्यार्थीहरूले प्रशिक्षणको अन्त्यपछि शीत लेखेर प्रस्तुत समेत गरेका थिए ।