Shittalpati
निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै तानसेन नगरपालिका

कृष्ण पोखरेल
पाल्पा, तानसेन नगरपालिकाका कार्यपालिकाको पाँचौ बैठकले गरेका विभिन्न निर्णयहरु तत्काल कार्यान्वयन गर्ने निर्यण गरेको छ । तानसेन नगरपालिकाले जेष्ठ नागरिक, अपाङ्ग, तथा सुत्केरी महिलाहरुलाई अस्पताल आउँ–जाउँको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।

नगर कार्यपालिकाको चालु आर्थिक वर्षको पाँचौ बैठकले निर्यण गरी पाल्पा रेडक्रसलाई एम्बुलेन्स सहयोग गरी निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने नगर प्रमुख अशोककुमार शाहीले बताए । हामीले एम्बुलेन्स किन्न नगरपालिकाबाट ६० प्रतिशत लगानी गर्छौ सोही आधारमा रेडक्रस पाल्पाले नगर भित्रका जेष्ठ नागरिक, अपाङ्ग, तथा सुत्केरी महिलाहरु लाई अस्पताल आउँ–जाउँको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने सहमती भएको नगर प्रमुख शाहीले बताए । तानसेन नगरपालिकाले विद्यालयमा कार्यरत बाल सहजकर्ता र परिचालकहरुको मासिक तलव १५ हजार रुपैयाँ पुर्‍याउने निर्यण गरी बजेट व्यवस्थापन गरेको छ । स्वच्छिक अवकाश रोज्ने पहिलो १० प्राथमिक तहका शिक्षकहरुलाई १ लाख रुपैयाँ अनुदान दिने, वडा १ र ११ मा नयाँ वडा भवन बनाउने, नगरको पारिवारिक लागत विवरण तयार पारी आवश्यक सुविधाहरु प्रदान गर्ने नगर प्रमुख शाहीले बताए । दैवी प्रकोप तथा विपद्का कारण मृत्यु भएका परिवारलाई २५ हजार, पूर्ण रुपमा घर भत्किएका परिवारलाई १० हजार, आंशिक क्षती भएका परिवारलाई १० हजार नगद प्रदान गर्ने, नगरपालिका भित्रको राजमार्ग क्षेत्रमा ४ करोड लगानीमा सार्वजनिक निजी साझेदारीको अनुरुप राजमार्ग पुनरताजगी सेन्टर निर्माण गर्ने, वीपि कोईराला स्मृति प्रतिष्ठान गठन गर्ने, नगरका १४ वटै वडामा एक–वडा एक किलोमिटर पक्की र थप १ किलोमिटर ग्रावेल गर्ने, तानसेन नगरपालिकामा समावेश भएका साविकका गाविस तथा साविकका नगर वडाहरुका घरहरु सूचिकरण तथा नक्सा पासको लागि अन्तिम पटक ३५ दिने समय प्रदान गर्ने प्रमुख शाहीले बताए ।

नगरपालिकाले कार्यपालिका बैठकले गरेका निर्यणहरु नगर प्रवक्ता दामोदार घिमिरेले सार्वजनिक गरेका हुन् । तत्काल नगरभित्रमा बेरोजगारहरुको सूची तयार पारी प्राथमिकताका आधारमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लागुगर्ने, रानीमहल सौन्दर्यकरणको लागि तोकिएको रकम तत्काल भुक्तानी दिने, शितभण्डार निर्माणको लागि जरिवाना ५४ लाख सहित अन्तिम पटक २०७९ सम्मको लागि म्याद थप्ने सो अवधीमा पनि काम सम्पन्न नगरे निर्माण कम्पनी हिमढुङ्ग एण्ड ठोकर जय रक्तकाली लाई कालोसूचीमा राख्न सिफारिस गर्ने निर्यण भएको प्रवक्ता घिमिरेले बताए । दमकडा माविलाई स्कुल बस सहयोग गर्ने, नगरभित्रका स्नातक पास गरेका १० जना दृष्टिविहीनलाई ल्यापटप सहयोग गर्ने, लहरे पिपल प्रावि रहेको जग्गामा अमानतमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गर्ने, वडा ३ को प्रगतिनगर तथा कृषि थोक केन्द्र क्षेत्रमा खानेपानीको पाइप विस्तार गर्ने, तानसेन खानीपानी उपभोक्ता समितिले नगपालिकाको प्रस्ताव कार्यान्वयको लागि पुनः पत्राचार गर्ने, तानसेनको छोरी शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन तानसेन नसिङ स्कुलसंग सहकार्य गर्ने, नगरस्तरीय स्पोट एकाडेमीको गठन, नगरभित्रका विद्यालयमा तत्काल शिक्षक दरवन्दी मिलान तथा संमायोजन गर्ने निर्यण गरेको छ । तानसेन नगरभित्र पाँच वर्षको अवधीमा उल्लेखनीय परिवर्तन भएको, विकास पूर्वाधार, संरचना तयार भएको, दुध, मासु, अण्डा र तरकारीमा नगर आत्मनिभर भएको नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले बताइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पिताम्वर पाण्डेले जनताको घरदैलो सुखदुःखको सरकार भनेकै स्थानीय सरकार स्थानीय जनप्रतिनिधी भएकोले जनताको चाहना अनुसार नगरभित्र काम भइरहेको बताए । नगरपालिका भित्र सुशासन, पारदर्शिता कायम गर्न पत्रकारहरुबाट निगरानी भइरहनुपर्ने प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए । नगरप्रमुख अशोककुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार महासंघका पूर्वअध्यक्ष एवं नगरका प्रेस सल्लाहकार गोविन्द भट्टराईले गरेका थिए ।

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update