Shittalpati
गुल्मीका प्रमुख जिल्ला अधिकारी पौडेल कुचो लिएर सडकमा

रमेश विश्वकर्मा
गुल्मी, जिल्ला प्रशासन कार्यालय अगाडि शुक्रबार बिहान एक व्यक्तिले हातमा कुचो समातेर बढारी रहेका थिए । प्रायःसरसफाई गर्ने व्यक्ति सरसफाई गर्दा प्रयोग गर्ने पोशाकमा हुन्छन् । तर शिरमा ढाकाटोपी, चट्ट कोट र पाइन्टमा सजिएका व्यक्तिले हातमा कुचो समातेर बढारिरहेको दृश्यले सबैको ध्यान केन्द्रित गरिरहेको थियो । नजिकै गएपछि बल्ल थाहा भयो ! उनी रहेछन् गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल । राष्ट्रिय सेवा दल (एनसिसि) नेपालको १४ औं वार्षिकोत्सवको अवसरमा सदरमुकाम तम्घास बजारका विभिन्न स्थानमा सरसफाई गरी सन्देश प्रवाहका साथ मनाउने योजना बनाइएको रहेछ ।

यस जिल्लामा सरसफाईको अवस्था राम्रो भएपनि पछिल्लो समय भने सरसफाईको महत्व बिर्सिएको जस्तो अनुभूति नागरिकमा रहेको भन्दै त्यसैको सन्देश प्रवाहको लागि सरसफाई अभियान सञ्चालन गरिएको प्रजिअ पौडेलले बताए । सरसफाईले सामाजिक सभ्यतालाई जनाउँछ । सभ्य समाज निर्माणको महत्वपूर्ण सूचाड्ढको रुपमा सरसफाईलाई लिन सकिन्छ । तर सरसफाईप्रति वेवास्ता गरे भविष्यमा यसले जटिल समस्या निम्ताउन सक्ने भन्दै यसतर्फ पनि सचेत गराउन सरसफाई गरिएको हो । प्रमुख जिल्ला अधिकारी पौडेलले सरसफाई भनेको व्यक्तिगत तहबाट सुरु हुने विषय भएकाले सरसफाई गर्ने सबै नागरिकको कर्तव्य र जिम्मेवारी भएको बताए । घरपरिवार, समाजबाट सरसफाई गर्नुपर्ने जिम्मेवारी लिनुपर्ने भए पनि संस्थागत हिसाबले स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले उल्लेख गरे ।

सरकारी निकायका कर्मचारीले पनि सरसफाईमा ध्यान दिनुपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । ‘मिलीजुली कायम गरौँ नेपालीको भातृत्व, ग्रामीण क्षेत्रको विकास, हामी सबैको साझा दायित्व’ भन्ने नाराका साथ स्वच्छ जीवन, स्वच्छ वातावरण सरसफाई हाम्रो अभियान उद्देश्य लिएर जिल्लामा सरसफाई गरिएको थियो । सरसफाई अभियानमा राष्ट्रिय सेवा दल (एनसिसि)को तालिम लिइरहेका सिद्धबाबा माध्यमिक विद्यालयका विद्यार्थीहरु, शिक्षक, सुरक्षा निकायको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update